दल

कांग्रेस सांसद भन्छन् : प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत

इकागज |
असार २४, २०८० आइतबार १९:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका हुन् । उनले प्रधानमन्त्रीले संसद्, सांसदहरू र नागरिकको आत्मसम्मानमा असर पुर्याउने गरी बोल्न नमिल्ने जिकिर गरे  ।


त्यस्तै प्रतिपक्ष नेकपा एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठीक भएको बताए । उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको उल्लेख गरे ।

महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए ।

त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छटपटी देखाएको बताए । उनले प्रधानमन्त्रीको राजीनामा माग गरेको एमाले पुनः पछि हटेको दाबी गरे । उनले एमालेले परिपक्व राजनीति नगरेको आराेप लगाए ।

कांग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नु भएको टिप्पणी गरे । संसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए । उनले निरन्तर संसद् बैठक अवरुद्ध गर्नु नहुने बताए ।  


Author

थप समाचार
x