दल

व्यक्ति परिवर्तनले समस्या समाधान हुन्न, व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कमल थापा

इकागज |
भदौ १८, २०८० सोमबार १८:१३ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको विद्यमान अवस्थामा व्यक्ति परिवर्तन गरेर समस्या समाधान नहुने भन्दै व्यवस्था र प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्किनै नसकिने दलदलमा फसाएको भन्दै अब यो व्यवस्था र प्रणालीको विकल्प खोज्ने समय आएको समेत बताए ।


सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे। 'भ्रष्टाचारीलाई कारबाही होइन, सरकार भ्रष्टाचारीको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ,' उनले भने । 

राजनीतिक दलका नेता, कर्मचारी, बिचौलियाहरूको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो । चुनाव जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको थापाले चर्चा गरे ।

आगामी भाद्र २९ गते काठमाडौँमा हुने विरोध प्रदर्शनको तयारीमा जुट्न नवप्रवेशी युवाहरूलाई थापाले आग्रह गरे । सो अवसरमा विशाल विक्रम राणाको नेतृत्वमा दर्जनौ युवा राप्रपा नेपाल प्रवेश गरेका छन् । साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसी राप्रपा नेपाल प्रवेश गरेका छन् ।


Author

थप समाचार
x