दल

गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रन्छ : महासचिव पोखरेल

इकागज |
असोज १५, २०८० सोमबार २०:१४ बजे

पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगारेको बताएका छन् । सोमबार पोखरामा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रने बताएका हुन् ।

उनले एमालेलाई सरकारबाट हटाएपछि युवाहरू विदेश जान थालेको बताए । ‘जब हामीलाई सरकारबाट हटाइयो, युवाहरू विदेश गए । पछिल्लो एक वर्षमा ७ लाख ६३ हजार युवा विदेश गएका छन्,’ उनले भने, ‘जतिबेलासम्म गठबन्धनको सरकार रहन्छ, जनताको भाग्य र भविष्य बिग्रिन्छ ।’ 


महासचिव पोखरेलले मिसन २०८४ मा एमालेलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताए । उनले अब राजनीतिक अस्थिरताको चुनौती चिर्नुपर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नदिने पक्षमा प्रचण्ड नेतृत्वको सरकार रहेको आरोप लगाए । त्यही कारण सञ्चालन अनुमति मागेका अन्तर्राष्ट्रिय उडान कम्पनीलाई सरकारले अनुमति दिन नखोजेको महासचिव पोखरेलले दाबी गरे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले गण्डकीको पहिलो अधिवेशनको उद्घाटन गर्ने तय भए पनि मौसम प्रतिकूलताका कारण अध्यक्ष ओली आउन नसकेपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए । पोखरामा बिहानैदेखि मौसम प्रतिकूल भएपछि उद्घाटन कार्यक्रममा सुरु हुन ढिला भएको थियो । १२ बजे सुरु हुने भनिएको कार्यक्रममा साढे एक बजे मात्र भएको थियो । त्यति बेलासम्म पनि नेता कार्यकर्ताहरू अध्यक्ष ओलीको प्रतीक्षामा थिए । आयोजकले अघिल्लो दिन नै पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्ने जानकारी दिएको थियो । सोही अनुसार पोखरा अमरसिंह चौरमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति थियो । कार्यक्रम सुरु भएपछि उद्घाटन नगरी मन्तव्य राख्न सुरु भयो ।

सुरुमा नेकपा एमाले गण्डकी उपाध्यक्ष मोहन रेग्मीले स्वागत गरे । त्यस लगत्तै स्थायी कमिटी सदस्य थममाया थापा बोलिन् । लगत्तै स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सचिव पद्मा अर्याल र गण्डकी इन्चार्ज गोकर्ण विष्टले मन्तव्य राखे । त्यो समयसम्म पनि प्रमुख अतिथि आउने अत्तोपत्तो थिएन । त्यसपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बोलेर सक्दासम्म अध्यक्ष ओली नआएपछि नाच तथा झाँकी देखाएर नेता कार्यकर्तालाई भुलाएका थिए । अन्ततः मौसमका कारण देखाउँदै अध्यक्ष ओली नआउने जानकारी पाएपछि महासचिव पोखरेलले कार्यक्रम उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाए । प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको उनले बताए । उनले भने, ‘कांग्रेस शोषक, कमीसनखोर र भ्रष्टाचारीहरूको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत् कमीसनखोर र तस्करहरू समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । यो मुलुकको प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधी लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’

उपमहासचिव गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको पनि बताए । उनले पार्टी बलियो बनाउन, एकीकृत गर्न अब १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका हुन् । उनले भने, ‘म यहीँबाट तपाईंहरूलाई भन्न चाहन्छु । अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलीको नेतृत्व आवश्यक छ ।’ 

एमालेको अधिवेशनको बन्द सत्र पोखरा सभागृहमा चलिरहेको छ । गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि चयन गरिसकिएको छ । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएकोमा कास्कीको रुपाले भने मतदान मार्फत प्रतिनिधि छनोट गरेको हो । २ दिन चल्ने अधिवेशनमा नेतृत्व चयन भने केही पर धकेलिने सम्भावना छ । यद्यपि १७ गतेभित्र गण्डकीले नेतृत्व पाउने अध्यक्ष नवराज शर्माले दाबी गरे । गण्डकी एमालेमा १ सय ६५ जनाको कमिटी गठन हुनेछ । अझै सानो बनाउने प्रयास गरिरहेको शर्माले बताए । 

मतदान हुने भइहाले मतदान भने मेसिनमार्फत हुनेछ । अधिवेशनका लागि कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी छन् । प्रतिनिधिहरूलाई राख्न पोखराका २१ वटा होटलहरू बुक गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । अधिवेशनको उद्घाटन समारोह अघि पोखराका विभिन्न ठाउँबाट र्याली निकालेको थियो । 


Author

थप समाचार
x