दल

दलहरूकै कारण गणतन्त्रमा प्रश्न चिह्न लागेको हो : शेखर कोइराला

बाबुराम भण्डारी |
मंसिर १, २०८० शुक्रबार १८:४४ बजे

विराटनगर- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिह्न लागेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूको संवादमा नेता कोइरालाले जनताले गणतन्त्रका लागि आन्दोलन गरे पनि नेता र दलहरूले त्यो कुरा बिर्सिएर भ्रष्टाचार र दण्डहीनतालाई बढाउनतिर लागेको बताए ।

‘गणतन्त्रका लागि आन्दोलन गर्यौँ, प्राप्त गर्यौँ तर के को लागि भन्ने कुरा हामीले बिर्सियौँ,’ डा.कोइरालाको प्रश्न थियो, ‘भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि, दण्डहीनतालाई बढाउनलाई गणतन्त्र ल्याएको हो कि ? यी कुराबाट जनता आजित भएका छन्, निराश भएका छन् ।’


उनले गणतन्त्र आफैँमा खराब नभएको राम्रो व्यवस्था रहेको जिकिर गरे । तर, राजनीतिक दलहरूको कारणले गणतन्त्रमा प्रश्न चिह्न लागेको उनकाे भनाइ छ । नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण समेत मानिसहरू निराश भएको बताए ।

‘मिडियाले सरकारको विरोध गरेन भने सरकार कसरी अघि बढ्छ, सरकारले त सुधार्दै जानुपर्‍यो नि त,’ कोइरालाले भने, ‘सरकार अराजक भएर बोल्दै जाने, प्रधानमन्त्री जीले विराटनगरमै आएर तपाईँहरू हामीलाई भोट दिनुस्, हामी जातीय राज्य दिन्छौं भन्नुभयो, यस्तो अराजक हिसाबले बोल्न थालेपछि मान्छे निराश हुन्छ ।’

मुलुकको राजनीतिक निकासका लागि नेतृत्व लिन आफू जहिले पनि अगाडि हुने बताए । तर, त्यसका लागि समय लाग्ने पनि उनले बताए । 

कोइरालाले नियमन गर्ने बाटो बाँकी हुँदाहुँदै सरकारले टिकटक बन्द गरेको आरोप लगाए । सरकारले कुनै पनि अध्ययन अनुसन्धान नै नगरी टिकटक बन्द गर्ने पक्षमा लागेको दाबी गरे ।

‘धेरैले बन्द गर्नुपर्छ भनेर भनेका छन्, तर म चैँ बन्द गर्नुपर्छ भन्ने पक्षको मानिस होइन, म नियमन कसरी गर्न सकिन्छ भन्ने पक्षमा छु,’ उनले भने, ‘अरू देशहरूले कसरी नियमन गरेका छन् हेरौँ, अमेरिकामा सामाजिक सञ्जालहरू अफिस आवरमा चलाउन पाइँदैन, हामीले पनि त्यस्तै गरे हुन्छ ।’ नियमन गर्ने बाटो हुँदाहुँदै तिहारको मुखमा टिकटक बन्द गर्नु सरकारको गैर जिम्मेवार कार्य भएको दाबी गरे ।

कोशी प्रदेशको प्रसङ्गमा बोल्दै नेता कोइरालाले आफू सहमतिकै सरकार बनोस् भन्ने पक्षमा रहेको बताए । सहमतिकै सरकारका लागि आफूले एमालेलाई पनि सम्झाउँदै आएको जानकारी दिए ।

सरकारले बजेट ल्याएर पास गरेपछि कोशी प्रदेश सरकारले पनि पूर्णता पाउनेमा आफू विश्वस्त रहेको भनाइ उनकाे छ । एमालेप्रति संकेत गर्दै नेता कोइरालाले कोशी प्रदेशमा कांग्रेसलाई बचाइदिएको बताए ।

‘कोशीका माननीयहरूलाई सलाम गर्छु, वहाँहरूले नेपाली कांग्रेसलाई बचाइदिनुभयो, सात वटा प्रदेशमध्ये चार वटामा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो, अहिले नेतृत्वहरूले माओवादीलाई दिएको भए तीन-तीन वटा हुन्थ्यो,’ नेता कोइरालाले भने, ‘त्यति बेला हाम्रो अनुहार कस्तो हुन्थ्यो होला ? कति मलिन हुन्थ्यो होला ? त्यो हामीले बुझ्न सकेनौँ, हाम्रो स्ट्रेन्थ हुँदाहुँदै पनि हामीले त्यसलाई नजरअन्दाज गर्यौँ, म यहाँका माननीयहरूलाई नमन गर्छु ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x