दल

राजसंस्थासहितको हिन्दु राष्ट्र र प्रदेश तह खारेजीको माग गर्दै आन्दोलन गर्ने राप्रपाको घोषणा

इकागज |
पुस ३, २०८० मंगलबार १७:९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । ​आइतबारबाट बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पुष, माघमा देशभर सभा र तयारीका कामहरू गर्ने पनि निर्णय गरेको छ । फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मुल समिति गठन गरेको छ ।


डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ । कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरू परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङ्देनले बताए ।

उनका अनुसार बैठकले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरूलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको विरोध गर्दै उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । त्यस्तै रुस-युक्रेन युद्धमा होमिएका नेपाली युवाहरू फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरूको शीघ्र रिहाइको प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x