दल

लोकतन्त्र मास्न सकिन्छ भनेर कांग्रेसमाथि चौतर्फी प्रहार भयो : शेखर कोइराला

इकागज |
पुस ५, २०८० बिहीबार १८:३० बजे

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र मास्न चाहनेहरूले पार्टीमाथि चौतर्फी आक्रमण गरिरहेको बताएका छन् । बुधबार सुनसरीको इनरुवामा आयोजना भएको बृहत् कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्रको भविष्य कमजोर हुने धारणा राखे ।

'कांग्रेस कमजोर बनाएपछि मात्र लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । त्यसैले केही शक्तिहरूले कांग्रेस पार्टीलाई चौतर्फी घेराबन्दी गरेर आक्रमण गरिरहेका छन्,' उनले भने ।


नेता शेखर कोइरालाले पार्टीभित्र गुट उपगुट हाबी हुने भए पार्टीमाथि आक्रमणकारी शक्तिलाई थप मलजल हुने धारणा राखे ।

'म पनि एउटा गुटलाई प्रतिनिधित्व गर्छु । मैले गर्ने गुट भनेको वैचारिक हो,' उनले थपे, 'महाधिवेशनमा गुट देखिनु स्वाभाविक हो । तर, गुटकै कारणले चुनाव हराउने काम भइरहेका छन् । यो एकदमै गलत भइरहेको छ यसलाई बहिष्कार गर्नुपर्छ ।'

कांग्रेस भन्ने तर, आफूइतर गुटले टिकट पाए चुनाव हराउन लाग्नेलाई पार्टीमा स्थान दिइरहनु उपयुक्त नहुनेमा कोइरालाले जोड दिए ।

फरक प्रसंगमा उनले नेतृत्वको कार्यशैलीका कारण व्यवस्थामाथि प्रश्न उठिरहेको बताए ।

'नेतृत्वको कार्यशैलीप्रति वितृष्णाका कारण सडकमा मानिसहरू देखिएका छन् । गणतन्त्र र संघीयताविरुद्ध नाराहरू घन्किन थालेका हुन्,' उनले थपे, 'नेतृत्वमा बस्नेहरूको कार्यशैलीका कारण जनता आजित भएर विकल्पको खोज्नुपर्छ भनेका हुन् । हामी सुध्रिए गणतन्त्र र संघीयता मजबुत हुन्छ ।'


Author

थप समाचार
x