दल

चुनाव जित्न विकाससँग संगठनलाई जोड्नुपर्छ : शंकर पोखरेल

इकागज |
पुस २८, २०८० शनिबार २१:१३ बजे

​काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानु पर्ने बताएका छन् । 

नेकपा एमाले दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासको कामको उचित प्रचार गर्न पनि सक्नु पर्ने बताए । ‘विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास र संगठन सँगसँगै लिएर गयो भने मात्र चुनाव सहजै जितिन्छ,' उनले भने । 


उत्पादनसँग जोडिएका मानिसहरूसँग राजनीतिक रूपमा जोडिनु पर्ने उनले बताए । त्यसो भयो भने मात्र संगठन मजबुत हुने पोखरेलले प्रष्ट पारे । 

एमाले सरकारमा हुँदा जनताको जीवनमा परिवर्तन ल्याउने अनेक काम गरेको पोखरेलले बताए । तर, एमाले सरकारको पालामा भएका कामको पार्टीको तर्फबाट अझै उचित प्रचार हुन नसकेको पोखरेलको टिप्पणी छ । सो काममा पार्टीका नेता कार्यकर्तालाई लाग्न उनले निर्देशन दि‌ए ।

कम्तीमा एमालेको शासनकालमा भएका कामको स्वामित्व पार्टीले लिनु पर्नेमा उनले जोड दिए । ‘जति हामीले काम गरेका छौँ, त्यो विषयको जानकारी तपाईँ हामीसँगै रहेन छ,' उनले भने ।

आफूले गरेको कामको पनि चर्चा नगर्दा काम एउटाले गर्ने चुनाव अर्काले जित्ने अवस्था आउने पोखरेलले बताए । गएको निर्वाचनमा नेकपा एमालेको सन्दर्भमा त्यही भएको उनले प्रष्ट पारे ।

नेकपा एमाले सरकारबाट हटेपछि विकासका धेरै काम रोकिएको उनले बताए । ठेक्का प्रक्रियामा गएका विकास योजना समेत गठबन्धन सरकारले रोकेको उनको भनाइ छ । 

पोखरेलले आधारभूत तहका नागरिक जहाँ छन् विकासको केन्द्र पनि त्यही बनाउनु पर्नेमा उनले जोड दिए । त्यहीँबाट त्यसले समाज निर्माणको लागि भूमिका खेल्ने उनले प्रष्ट पारे । 

महासचिव पोखरेलले तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।


Author

थप समाचार
x