दल

देशलाई विकासतर्फ लान धेरै दल होइन बलियो राष्ट्रिय शक्ति चाहिन्छ : शंकर पोखरेल

इकागज |
पुस २९, २०८० आइतबार १२:४९ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकासतर्फ लैजाने हो भने धेरै दल होइन बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताए ।

नेकपा एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिए । अहिलेको हङ पार्लियामेन्टमा समीकरणको जोड घटाउ गर्दा सरकारमा पुग्न सक्ने स्थिति भएको भए पनि एमाले त्यसमा नलागेको उनले बताए ।


एमाले मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने पक्षमा रहेको पोखरेलले प्रष्ट पारे । ‘नेकपा एमाले अस्थिरताको खेलमा सामेल हुन चाहँदैन’, पोखरेलले भने । अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको भदै पोखरेलले चिन्ता व्यक्त गरे ।  युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको उनले बताए । रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धरै युवा विदेशिँदा देश बनाउन युवाको अभाव झेल्नु पर्ने स्थिति उत्पन्न भएको पोखरेलको निष्कर्ष छ ।

‘यो सरकारले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ त्यो कामलाई बदल्नु पर्दछ, नयाँ आशा जागृत गराउनु पर्दछ’, पोखरेलले भने, ‘नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि, भविष्यलाई सुरक्षित गर्नको लागि हामीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गर्ने तर्फ अगाडि बढ्नु पर्दछ ।’

वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उनले बताए । ‘सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन’, उनले भने ।  सरकारकै कारण व्यवसायीहरू नेपालका लगानी गर्न तयार नरहेका उनले बताए । सरकारको विकास विरोधी क्रियाकलाप, सरकारको अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको उनले बताए । 
 


Author

थप समाचार
x