दल

एमाले नेताविरुद्ध लाग्नेसँग खेलकुद महासंघ जाइलाग्ने

इकागज |
माघ ६, २०८० शनिबार १८:४० बजे

काठमाडौँ- नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताविरुद्ध चलाइएको अफवाह चिर्न विशेष टिम बनाएको छ ।

शुक्रबार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरूले सुनियोजित रूपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निष्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय विशेष समिति गठन गरेको हो ।


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले विशेष प्रशिक्षण दिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वविरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गरेका थिए । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरूलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरू चिर्न कमिटीले विशेष योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भने, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सञ्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरूलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’

बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ विशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौँ भने मात्रै मिसन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिसन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भने ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन विस्तारको विशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ वर्षभित्र डेढ लाख नयाँ सदस्यता वितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिविधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य वितरण अभियान अघि बढाउने निर्णय गरेको छ । 'अब महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको हो,’ अध्यक्ष बस्नेतले भने ।

उनले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रूपमा संगठन सुदृढीकरण, शुद्धीकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिए ।


Author

थप समाचार
x