दल

राष्ट्रिय सभा निर्वाचन : प्रचार-प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

इकागज |
माघ ६, २०८० शनिबार १९:४० बजे

काठमाडौँ- नेपाली कांग्रेसले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार-प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।

'राष्ट्रिय सभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो,' बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो । 


राष्ट्रिय सभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारूढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टीले १ सिट लिएका छन् ।


Author

थप समाचार
x