दल

एक्ला एक्लै आन्दोलन गर्नु भन्दा मोर्चाबन्दीमा गए सफल भइन्छ : कमल थापा

इकागज |
माघ ९, २०८० मंगलबार १८:५० बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको निमित्त आन्दोलनको विकल्प नभएको भन्दै परिवर्तन पक्षधरहरू एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका छन् ।

आज काठमाडौँमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रममा बोल्दै थापाले एक्लै एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नभएको तथा विगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण जरुरी भएको विचार व्यक्त गरे ।


एक्ला एक्लै विभक्त भएर आन्दोलन गर्ने कुरोले अहिलेको विकृति र बेथितिलाई नै मलजल हुने र मुलुक ब्रम्हलुटको यथास्थिति मै अघि बढिरहने भएको हुँदा परिवर्तन चाहने शक्तिहरू, एजेन्डा मिल्ने शक्तिहरू, सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादीहरू मिलेर मोर्चा निर्माण गरी आन्दोलनमा जानुको विकल्प नभएको थापाको स्पष्टोक्ति थियो ।

उनले भने, 'एक्ला एक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्ष रूपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ ।' अहिले आन्दोलनको लागि समय अनुकूल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सीमा नाघेको जनता अहिलेको व्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए ।

विदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनको रक्षा हुन नसक्ने भन्दै थापाले मुलुकले अहिले राष्ट्रवादी शक्तिहरूको स्वाभिमानी आन्दोलन खोजिरहेको टिप्पणी गरे । उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानसँगै आन्दोलनको तयारीमा युद्ध स्तरमा जुट्न थापाले सबैलाई निर्देशन दिए ।

काठमाडौँको १० वटै क्षेत्रमा १५ दिनभित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ ।


Author

थप समाचार
x