दल

सरकार जनतामा आशा जगाउन सफल : उपमहासचिव पुन

इकागज |
फागुन ५, २०८० शनिबार १८:२२ बजे

फाइल तस्बिर

कास्की- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन् ।

पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे ।


'नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ,' नेता पुनले भने । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उनले उल्लेख गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भने, 'अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्छ ।'

नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताए । 'यसपटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने छ,' नेता पुनले भने ।

नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए । निर्वाचन प्रणालीले गठबन्धन अनिवार्य गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उनले उल्लेख गरे । 'देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित ‘म्यान्डेट’सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन,' उनले भने ।

पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझावसहित विधानमा परिमार्जन गरिएको बताए । अब विधानअनुसार पार्टी सञ्चालनको वातावरण बनाएको नेता पुनले बताए ।


Author

थप समाचार
x