दल

निर्वाचित महासमिति सदस्यहरूलाई बैठकबाट बाहिर राख्ने प्रपञ्च भएको भन्दै कांग्रेस जिल्ला सभापतिहरूले गराए ध्यानाकर्षण

इकागज |
फागुन ६, २०८० आइतबार २१:३८ बजे

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकबाट बाहिर राख्ने प्रपञ्च भएको भन्दै जिल्ला सभापतिहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आइतबार सोलुखुम्बु, दोलखा र खोटाङका सभापतिहरू नाम्गेल जाङ्बु, बर्मा लामा र विष्णुकुमार राईले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 'नेपाली कांग्रेसको मौजुदा विधानले तोकेको परिधिभित्र रही नेपाली कांग्रेसका जिल्ला निर्वाचन समितिहरूले नेपाली कांग्रेसको निर्वाचन निर्देशिका, २०७८ अनुसार विधिपूर्वक निर्वाचन/ सर्वसम्मत/निर्विरोध गराई नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिसमक्ष पेस गरेका निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकबाट बाहिर राख्ने प्रपञ्च भएको सुनिन आएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त निर्णयमा पुग्दा सम्बन्धित जिल्लाका सभापति एवं निर्वाचन अधिकृतहरूको राय एक पटक पनि सुन्ने प्रयत्न भएको छैन, यस्ता अवाञ्छित गतिविधिहरूप्रति हामी जिल्ला सभापतिहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।'


उनीहरूले अविलम्ब रूपमा निर्वाचित महासमिति सदस्य साथीहरूलाई महासमितिको बैठकमा भाग लिने व्यवस्था गर्न र सिङ्गै जिल्लालाई महासमिति सदस्यविहीन गर्ने षडयन्त्रलाई पराजित गरी उक्त महासमिति बैठकबाट पारित हुने प्रस्तावहरूको अपनत्व ग्रहण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

माग सम्बोधन नभए निर्वाचित भई आएका महासमिति सदस्यहरूलाई बाहिर राखी हुने महासमिति बैठकमा जिल्ला सभापतिहरू भाग नलिने चेतावनी समेत उनीहरूले दिएका छन् । 

'सिङ्गै जिल्लालाई महासमिति सदस्यविहीन गर्ने षडयन्त्रलाई पराजित गरी उक्त महासमिति बैठकबाट पारित हुने प्रस्तावहरूको अपनत्व ग्रहण गर्ने व्यवस्था गरियोस् । अन्यथा निर्वाचित भई आएका महासमिति सदस्यहरूलाई बाहिर राखी हुने महासमिति बैठकमा हामी जिल्ला सभापतिहरू भाग नलिने जानकारी गराउँदछौं,' विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x