दल

अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ : विष्णु पौडेल

इकागज |
फागुन २०, २०८० आइतबार १४:३८ बजे

जनकपुरधाम- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताए । 

'एमालेले अर्थ मन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अर्थतन्त्र सुधार भएको देखिन्थ्यो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रका सबै सूचक समस्यामा छन्,' पौडेलले भने । पूर्व अर्थमन्त्रीसमेत रहेका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए । 


उपाध्यक्ष पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्ता गठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताए । सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने उनको जिकिर छ । 

'हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ । पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ,' पौडेलले सञ्चारकर्मीसँग भने । 

अध्यक्षका लागि बनाइएको माला पौडेललाई

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखेको थियो । 

अध्यक्ष ओली यहाँ नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको नेकपा एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । एमाले जनकपुरधाम उपमहानगर कमिटीले माला तयार गरेको थियो । 

'अध्यक्ष कमरेड आउने भनेपछि हामीले माला उनेका थियौँ । मौसम खराबीका कारण आउनसक्नु भएन । उहाँको सट्टामा उपाध्यक्ष पौडेललाई लगाइदियौँ,' नगर अध्यक्ष भण्डारीले भने । 

फागुन १४ गतेदेखि सुरु भएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको आज समापन हुँदैछ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । 


Author

थप समाचार
x