दल

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज |
फागुन २८, २०८० सोमबार २०:३ बजे

बैतडी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, 'एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ, जनप्रिय पार्टी बनाउनुपर्छ ।'


जनताको विश्वासको मत प्राप्त गर्न एमाले ‘मिसन–८४’ मा अघि बढेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले बहुमत ल्याए मात्रै देशमा समृद्धि आउने बताए । 'एमालेले बहुमत ल्याएर सुशासन ल्याउनुपर्छ । मिसन–८४ मा अहिलेदेखि लागौँ । नयाँ गठबन्धनले मिसन–८४ लाई सहयोग पुग्छ,' उनले भने ।

देशमा विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिँडेकाले असफल भएको बताए । उनले भने, 'अघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भ्रष्टाचार बढ्यो, युवा पलायन भए, अर्थतन्त्र धराशायी भयो ।'

नयाँ गठबन्धनमाथि जनताको ठूलो भरोसा रहेकाले कृषिको आधुनिकीकरण तथा व्यावसायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । युवालाई हरेक तहको नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो । 


Author

थप समाचार
x