दल

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्तिमा विवाद

इकागज |
फागुन २९, २०८० मंगलबार १९:२७ बजे

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरूको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।


प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ ।’

यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन् ।

उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x