दल

विपीको शालिकमा माल्यार्पण गरेर महामन्त्री थापाको संवाद यात्रा सुरु

इकागज |
चैत १५, २०८० बिहीबार ८:५२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज बिहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । स्थानीय चोकमा विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले संवाद यात्रा सुरु गरेका हुन् । 

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोलि र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । 


महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ । 

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन् । 

आजै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरी सम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् ।  भोली १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ । 

थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लुम्बिनी जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ । 

त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने यात्रामा सँगै रहेका नेविसंघका पुर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।


Author

थप समाचार
x