दल

आवश्यक परे देश र जनताका लागि संविधान पनि संशोधन गर्नुपर्छ : माधव नेपाल

इकागज |
चैत २०, २०८० मंगलबार १७:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विगतको अनुभवका आधारमा आवश्यक परे देश र जनताका लागि संविधान पनि संशोधन गर्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा उनले विकास र समृद्धिका लागि कुनै विषयले बाधा पुर्याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्ने भन्दै आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताएका हुन् ।


उनले निर्वाचन प्रणालीमा पूर्ण रूपमा त्रुटी नरहेको भन्दै यसमा विकृतिको अन्त्य गर्नु जरुरी रहेको बताए । आम रूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने भन्दै उनले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनैपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले जनताबाट अलग भए समाजवादको बेहाल हुने भन्दै यसप्रति सचेत रहनुपर्नेमा जोड दिए ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको परिवर्तन नगरी समाजवाद स्थापना हुन नसक्ने उल्लेख गरे । अहिलेको अवस्थामा नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

उनले जातीय, धार्मिक, सामाजिक विभेदलाई अन्त्य नगरिकन सामाजिक न्यायसमेत प्राप्त हुन नसक्ने जिकिर गरे ।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले नेपाली मौलिकताको समाजवाद स्थापना गर्न यथास्थितिमा क्रम भङ्ग गरेर अगाडि जानुपर्ने बताए । अहिले नेपालमा देखिएको सबै किसिमको समस्या समाधान गर्न समाजवादबाट सम्भव रहेको उनले बताए ।

त्यस्तै एमालेका नेता राजन भट्टराईले समाजवादीका बीचमा एकता नहुँदा लामो सङ्घर्षपछि प्राप्त व्यवस्था र संविधानलाई कार्यान्वयन गर्न समस्या भएको धारणा राखे । 


Author

थप समाचार
x