दल

लुम्बिनी पुगेर डा.शेखर कोइरालाले भने: अहिलेको समस्या निर्वाचन प्रणाली हो

इकागज |
चैत २८, २०८० बुधबार १९:४ बजे

काठमाडाैँ - ​नेपाली कांग्रेसका वरिष्ठ नेता  तथा सांसद डा शेखर कोइरालाले अहिले समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र विघटन भएको बताएका छन् । बुधवार लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने दाबी गरे ।

संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले औंल्याए । 'कति सधैं सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? बिकास कहिले गर्ने ? ,'कोइरालाले प्रश्न गरे ।


संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरू पटक-पटक सत्तामा पुगे पनि  संविधान बनाउन नसकेको उनले आरोप लगाए ।  'दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो । परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्यो,' कोइरालाले भने,' त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।'

कोइरालाले राजनीतिक स्थिरता, सुशासन र बिकास आफ्नो मुल एजेन्डा भएको र त्यसमा आफू पुर्णरुपले प्रतिबद्ध रहेको पनि बताए । हाम्रै नेताहरूले त्यो पनि कांग्रेसले नै देश बनाउन सक्छ भन्ने सन्देश गाउँघरका कुनासम्म पुर्याइदिन कोइरालाले शिक्षकहरुसँग आग्रह समेत गरे ।

कोइरालाले शान्तिका दुत गौतम बुद्धको पवित्र भुमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिँड्ने प्रण गर्दै देश बनाउने अभियानमा लागौं भन्ने अठोट गर्न सबैलाई आग्रह गरे ।  सत्यको बाटो अप्ठ्यारो हुने तर जित सत्यकै हुने कोइरालाको भनाइ छ ।

कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाव बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे ।


Author

थप समाचार
x