दल

चन्दको सक्रियता

नेपाल-चन्दबीच वार्ता भइरहँदा दाहाल टुप्लुक्क पुगेपछि...

शीर्ष नेतालाई भेटेर के गर्न खोज्दैछन् ?

विनोद देवकोटा |
असार ३१, २०७८ बिहीबार १३:३८ बजे

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको छ । बुधबार बसेको सचिवालय बैठकले नै राजनीतिक भेटघाटलाई तीब्र बनाउने निर्णय गरेको थियो । तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न सहमत भएका चन्द तत्कालीन केपी शर्मा ओली नेतृत्‍वकाे सरकारले सहमति कार्यान्वयन नगरेदेखि नै असन्तुष्ट छन् ।

तत्कालीन ओली सरकारसँग चन्द नेकपाले तीन बुँदे सहमति गरेको थियो । सहमतिअनुरुप ओलीले नेकपामाथिको प्रतिबन्ध हटाए पनि हिरासतमा रहेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ताबारे कुनै निर्णय नै नगरी बाहिरिए । नयाँ सरकार बनेपछि चन्द नेकपाले तीन बुँदे कार्यान्वयनका लागि दल र तिनका नेताहरूलाई आग्रह गरिरहेको छ । त्यसैको शृखला हो, पछिल्ला राजनीतिक भेटघाट । चन्दले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमै पुगेर भेटेका थिए । आज  बिहानै दाहालसहित माधवकुमार नेपाल र चन्दले भेटेको तस्बिर सार्वजनिक भएको छ । 


तस्बिरले ल्याएको तरंग

दाहाल-नेपाल र चन्दबीचको संयुक्त भेटघाटको तस्बिरलाई लिएर विभिन्न कोणबाट टिका टिप्पणी भइरहेका छन् । तीन जनाको भेटलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । कतिपयले कम्युनिष्ट धुव्रीकरणका विषयमा पनि याे भेटघाटलाई अर्थ्याएका छन् । तर, नेकपा सचिवालय सदस्‍य धर्मेन्‍द्र बास्तोला भने कुरा त्यहाँसम्म पुगिनसकेको बताउँछन् । भेटघाटमा स्वाभाविक रूपमा विभिन्न विषय उठ्ने भए पनि धुव्रीकरणकै विषयमा छलफल अघि बढिनसकेको उनको भनाइ छ ।

‘हाम्रो मुख्य ध्यान भनेकै सरकारसँगको तीन बुँदे सहमति कार्यान्यनमा छ,’ बास्तोलाले भने, ‘हामीले इमान्दार भएर कार्यान्वयन गर्यौँ । तर, यसअघिको सरकारबाट जति हुनुपर्थ्यो, त्यो हुन सकेन । अब नयाँ सरकार बनेको छ । हामीले तीन बुँदे सहमति कार्यान्वयका विषयमा नेताहरूसँग छलफल गरिरहेका छौं । भेटघाटमा स्वाभाविक रूपमा समसामयिक विषय आइ नै हाल्छन् । त्योबाहेक अन्य विषय आउने भए पनि हाम्रो मुख्य ध्यान तीन बुँदेमै छ ।’

कम्युनिष्ट धुव्रीकरणका विषयमा आम मान्छेले गर्ने अपेक्षा स्वाभाविक भएको उनको भनाइ छ । 'क्रान्तिकारी धुव्रीकरण गर्ने त हाम्रो पनि प्रयत्न हो नि,’ उनले भने, ‘हामीले त्यो दिशातिर पनि लिन खोजेको हो । तर, अहिले एकताका विषयमा त कुनै कुरा भएको छैन ।’

दाहाल टुप्लुक्क पुगेपछि ..

सचिवालयको निर्णयपछि हिजै नेकपा महासचिव चन्दले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेका थिए । दाहाल निवास खुमलटारमा भएको भेटमा नेकपा सचिवालय सदस्य धर्मेन्‍द्र बास्तोला पनि सहभागी थिए । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । 

बिहीबार बिहानै एमाले नेता माधवकुमार नेपाललाई भेट्ने कार्यक्रम थियो । सोही कार्यक्रमअनुसार नेकपा महासचिव चन्द र नेता बास्तोला बिहीबार बिहान कोटेश्वर पुगे । चन्दको सचिवालकाअनुसार उनीहरू पौने १० बजे कोटेश्वर पुगेका थिए । नेता नेपाल र चन्दबीच करिब ४५ मिनेट छलफल भयो । सचिवालयकाअनुसार छलफल समसामयिक विषय र तीन बुँदे कार्यान्वयमा केन्द्रित थियो ।

‘विभिन्न दलका नेताहरूलाई भेट्ने हाम्रो पार्टीको पछिल्‍लो राजनीतिक कार्यक्रम नै हो,’ चन्दसँगै कोटेश्वर पुगेका केन्द्रीय सदस्य असल क्षेत्रीले भने, ‘यही कार्यक्रमअन्तरगत हिजो प्रचण्डलाई भेटेका थियौँ । आज माधव कमरेडसँग छलफल भयो ।  छलफल मूलतः यसअघिको सरकारसँग भएको तीन बुँदे कार्यान्वयन र समसामयिक विषयमा केन्द्रित थियो ।’

नेता नेपाल र चन्दबीच छलफल चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल टुप्लुक्कै कोटेश्वर पुगे । नेपाल–चन्दबीच ४५ मिनेटको वार्तापछि दाहाल कोटेश्वर पुगेका हुन् । जुन चन्दको सेड्यूलमा थिएन । नेपाल–चन्द वार्ता चलिरहेकै बेला दाहाल पनि पुगेपछि संयुक्त तस्बिर लिइएको क्षेत्रीको भनाइ छ । 

‘उहाँहरू(दाहाल–नेपाल)बीच छलफलको कार्यक्रम रहेछ,’ क्षेत्रीले भने, ‘हामी त्यही हुँदा प्रचण्ड पुगेपछि संयुक्त तस्बिर लिइएको हो । प्रचण्ड पुगेपछि तीन नेताबीच सामान्य ‘हेल्लो हाइ’ मात्रै भएको हो । तीन नेताबीच संयुक्त छलफल भनेर जसरी प्रचार भइरहेको छ, वास्तवमा त्यस्तो होइन । प्रचण्ड पुगिसकेपछि हामी पाँच/सात मिनेट मात्रै त्यहाँ बस्यौँ । संयुक्त तस्बिर चाहिँ लिइयो ।’

चन्द नेकपाले पछिल्लो समय सबै दलका नेताहरूसँग् छलफल गर्ने कार्यक्रम छ । दाहाल, नेपालपछि प्रधानमन्त्री देउवासहित साना ठूला सबै दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको क्षेत्रीले जानकारी दिए । उनकाअनुसार अब लगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम छ । भेटघाटको समय भने तय भइनसकेको छैन ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x