दल

नेपाली कांग्रेसमा ७० वर्ष पारीका नेतालाई यो महाधिवेशन ‘गर या मर’ जस्तो

यस महाधिवेशनमा गुट अदलबदल व्यापक हुनेछ

इकागज |
असोज १, २०७८ शुक्रबार १४:५५ बजे

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ७० वर्ष पारीका नेतालाई नेतृत्व पंक्तिमा आउन अन्तिम महाधिवेशन जस्तो भएको छ । २०७२ फागुनमा महाधिवेशन भएपछि १४औं महाधिवेशन गर्न साढे पाँच वर्ष लाग्यो । पार्टी विधानले चार वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि संविधानले पाँच वर्षको समयावधि दिएकाले संविधानकै व्यवस्था अनुसार महाधिवेशन हुने निश्चित छ । नेतृत्वमा पुग्ने उत्कट इच्छा भएका ७० पारीका नेताले गुट अदलबदल गरेर भएपनि नेतृत्वमा आउने ध्यान केन्द्रित गरेका छन् ।  

त्यसकै कारण हो, उपसभापति विमलेन्द्र निधिको देउवा क्याम्पबाट विद्रोह । अघिल्लो महाधिवेशनमा पार्टी सभापतिमा शेरबहादुर देउवालाई सघाएका निधिले यो वर्ष देउवाको समर्थनमा सभापति बन्ने आकांक्षा राखेका थिए । तर देउवा आफैं सभापतिमा उठ्ने भएपछि निधिले उनलाई पर्खेर नबस्ने निधो गरे । यसपटकको महाधिवेशनमा देउवा आफैं पनि गुटका नेतालाई राखेर टीम बनाउने पक्षमा छैनन् । बरु गुटमा उनले भनेको मान्नेलाई यसपटकको महाधिवेशनमा पदाधिकारीमा आउन आफूलाई दबाब नदिन र सघाउन आग्रह गरेका छन् । 


देउवाले यसपटक आफू इतर गुटबाट पदाधिकारी तानेर सभापति बन्ने रणनीति अख्तियार गरेको उनी निकट नेताहरू बताउँछन् । यसमा क्रस–प्यानल भोटिङ गरेर भएपनि जित्ने दाउ देउवाको छ । उनी सकेसम्म निर्वाचन प्रक्रिलाई दोस्रो चरणमा जानै नदिने र पहिलो चरणमै निर्वाचित हुने दाउमा छन् । किनकी निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरे उनले ‘गिभ एण्ड टेक’ गरेर आफ्नो क्याम्प छाडेर हिंडेका नेताको गुट बलियो बनाउनुपर्ने हुन्छ, अर्कोतर्फ यदि निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्‍यो भने जे पनि हुनसक्छ भन्नेमा छन् उनी । उनी सकेसम्म गुट इतरका र अन्य आन्तरिक र बाह्य शक्तिलाई चिढ्याउने पक्षमा छैनन् । 

निधिबाहेक नेपाली कांग्रेसभित्रको कोइराला–पौडेल र सिंह समूहले साझा उम्मेदवार छान्ने भनेपनि ७० पारीकै नेताका कारण साझा उम्मेद्वार छनौट कठिन भएको छ । प्रकाशमान सिंहको समूहले रामचन्द्र पौडेलबाहेक अन्यलाई साझा उम्मेद्वार नमान्ने भएपछि पौडेलले उक्त क्याम्पबाट साझा उम्मेदवार बन्न चाहेका छन् । तर कोइराला परिवारका विरासत बीपी कोइरालाका कान्छा छोरा हालका महामन्त्री शशांक कोइराला र कोइराला परिवारकै केशव कोइरालाका छोरा शेखर कोइरालाले यसपटक सभापतिको उम्मेदवार बन्न चाहेका छन् ।

शशांकलाई यसअघि महामन्त्रीमा अघि सार्दा नै आफूलाई अर्कोपटक सभापतिको उम्मेदवारमा सघाउने अपेक्षा सहित सहयोग गरेको शेखर कोइराला पक्षले उल्लेख गरेको छ । शेखर कोइराला १३औं महाधिवेशनमा नै महामन्त्रीमा आउन चाहेका थिए, तर सहमतिमा शशांक उम्मेदवार बने । ‘शशांक पार्टीको महामन्त्री बनिसकेकाले नेतृत्व क्षमता देखाएको भए निर्विकल्प सभापतिको उम्मेद्वार हुन्थे । तर उनमा नेतृत्व कौशल देखिएन, देउवालाई चुनौती दिन पनि सकेनन्,’ कोइराला परिवार निकट एक नेताले भने, ‘शशांकलाई अघि सार्दा आफ्नो हालीमुहाली चल्छ भन्ने विचौलियाले उनलाई उकासेका हुन् ।’ यद्यपि, बीपीकै छोरा भएकाले पनि शशांक पनि अहिलेसम्म पार्टीको नेतृत्व लिनुपर्छ भन्नेमा दृढ छन् । 

यो समूहमा सहमति नभए प्रकाशमानसिंह देउवासँग मिलेर उपसभापति लड्न जानसक्ने सम्भावना पनि त्यत्तिकै छ । पौडेलले आफ्नो समूहबाट डा. रामशरण महत र प्रकाशमान सिंहलाई उपसभापति र शेखरलाई महामन्त्रीमा ल्याउन चाहेका छन् । बलबहादुर केसी पनि पौडेल समूहका महामन्त्रीका दावेदार हुन्, तर पौडेल यसपटक महामन्त्रीमा युवा पुस्तालाई ल्याउनैपर्ने बाध्यतामा छन् । कांग्रेसको राजनीति गरेर सार्वजनिक वृत्तमा निकै लोकप्रिय बनेका गगन थापा लगायतका नेताहरूको समूहले भने पौडेल–कोइराला–सिंहले सभापतिमा सहमति गर्न नसके आफ्नो सभापतिको उम्मेद्वार को हो भनेर घोषणा गरेर सहयोगका लागि अपिल गर्ने भित्री तयारी पनि थालेको चर्चा छ ।

शेखर कोइरालाले महेश आचार्य, गगन थापा लगायतलाई लिएर छुट्टै टिम निर्माण गर्न गृहकार्य गरिरहेको बुझिएको छ । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नुअघि हालका गृहमन्त्री बालकृष्ण खाँणसँग पनि संवाद अघि बढाएका थिए । तर खाँण देउवा सरकारको गृहमन्त्री बनेपछि देउवाकै प्यानलबाट महामन्त्री बन्नेमा विश्वस्त देखिन्छन् ।  

७० पारीका नेता पदाधिकारीमा आउने चाहले यसपटक नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा को कुन गुटमा लागेर उम्मेद्वार बन्ने हो भन्ने निश्चित छैन । विमलेन्द्र निधिले पनि देउवा क्याम्पका उत्तरदायी नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई उपसभापतिमा आउन प्रस्ताव गरेको चर्चा छ । यद्यपि कार्कीले देउवा समूहमै उपसभापति वा महामन्त्री पाउने आशा मारेका छैनन् । 

देउवाले दुई उपसभापतिमध्ये हालका महामन्त्री पूर्णबहादुर खड्कालाई समायोजन गर्नैपर्ने ठानेका छन् । विजय गच्छदारले पनि देउवा समूहबाटै उपसभापतिको अपेक्षा गरेका छन् । तर उनी यसपटक गच्छदारलाई केही आश्वासनबाट थामथुम पारेर प्रकाशमानलाई आफूतिर तान्ने ध्यानमा छन् । पुराना नेता अर्जुननरसिंह केसीलाई अघिल्लो महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनाएका देउवा समूहले आफूलाई धोका दिएर क्रस प्यानल भोट गरेको केसीको बुझाइ रहेकाले उनले यसपटक पौडेल–कोइराला समूहलाई सघाउने भएका छन् । यद्यपि हालसम्म कृष्ण सिटौला समूहले यसपटक कसलाई सहयोग गर्ने भन्ने प्रष्ट गरिरहेको छैन, उनीहरू सबै टिमसँग गुट बलियो बनाउने मोलतोलमा रहेको एक वरिष्ठ नेताले बताए । 'उनीहरू क्षेत्रीय अधिवेशनमा को पल्लाभारी हुन्छ सतर्कतापूर्वक हेरेर बसेका छन्, अहिले निर्क्यौल गर्दैनन्,' ती नेताले भने 


Author

थप समाचार
x