दल

कांग्रेस महाधिवेशन : कोही टिम बनाउँदै, कोही पदाधिकारीको खोजीमा

दुर्गा आचार्य |
कात्तिक २८, २०७८ आइतबार १७:५१ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अब एक महिना बाँकी छ । तर, अझै पनि सभापतिका आकांक्षीहरूले आफ्नो टिम घोषणा गर्न सकेका छैनन् । सभापतिका आकांक्षीमध्ये केहीको बाहेक बाँकीको उपसभापति महामन्त्री र सह-महामन्त्रीमा को–को चुनाव लड्ने भन्‍नेसमेत अझै टुंगो छैन ।

कांग्रेस सभापतिका निम्ति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति प्रकाशमान श्रेष्ठ, केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षीमा छन् । यस्तै सुजाता कोइराला र कल्याण गुरुङले पनि सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 


प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबाहेक अन्यको टिमबाट को–को लड्ने भन्‍ने बारेमा आकांक्षीहरू नै अन्योलमा छन् । सभापति देउवा महाधिवेशनमा पुनः सभापति दोहोर् उने तयारीमा छन् । उनको तयारी हेर्दा लगभग टिम पनि बनिसकेको छ । केही नेताको व्यवस्थापनमा देउवालाई चुनौती भएपनि उनको टिम लगभग पक्का भइसकेको छ । 

देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का, विजय गच्छदार लड्ने  सम्भावना छ । सभापतिको दाबी गरिरहेका गोपालमान श्रेष्ठलाई पनि उपसभापतिमा थुमथुम्याउने देउवाको दाऊ छ । यद्यपि श्रेष्ठले आफू सभापति पदमा नै उम्मेदवार दिने बताइरहेका छन् । तर खड्का र गच्छदारको सम्भावना उपसभापतिमा प्रवल देखिएको छ । 

यस्तै देउवाको टिमबाट महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण र एनपी साउद दाबेदार मानिन्छन् । यसमा देउवाको रोजाइमा को पर्छन् भन्‍ने अझै स्पष्ट छैन ।

यस्तै कांग्रेसको विधानअनुसार आठ सह-महामन्त्री चुनिन्छन् । जसमध्ये खुला सह-महामन्त्रीमा देउवाको टिमबाट रमेश लेखक, सुरेन्द्र पाण्डे दाबेदार छन् । महाधिवेशनमा देउवा र सिटौला एकै ठाउँमा उभिए भने प्रदीप पौडेल पनि सह-महामन्त्रीको उम्मेदवार हुन सक्छन् ।

यद्यपि पौडेलले आफूलाई तेस्रो धारको महामन्त्रीको घोषणा गरिसकेका छन् । यदि सिटौलाले छुट्टै समूह बनाए भने पौडेल महामन्त्री हुन्छन् । अर्को सम्भावना महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका पार्टी प्रवक्ता विश्व प्रकाश शर्मालाई पनि सह-महामन्त्रीको उम्मेदवार बनाएर देउवाले आफ्नै टिममा राख्न सक्छन् । 

समावेशी सह-महामन्त्री अन्तर्गत महिलामा देउवा टिमबाट ईश्वरी न्यौपाने, अम्बिका बस्‍नेत, डिला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसालको दाबेदारी छ । जसमध्ये डिना उपाध्याय देउवाको रोजाइमा पर्ने सम्भावना बलियो देखिन्छ । 

यस्तै जनजाति सह-महामन्त्रीमा भीष्मराज आङदाम्बेको दाबेदारी छ । मुस्लिम सह-महामन्त्रीमा फरमुल्लाह मन्सुरको एकल नाम छ । यस्तै थारु सह-महामन्त्रीमा रामजनम चौधरी, उमाकान्त चौधरीको दाबेदारी छ । विजय गच्छदार देउवासँग रहेको खण्डमा रामजनम बलियो देखिन्छन् ।

यदि देउवा सिटौला एक ठाउँमा उभिएको खण्डमा उमाकान्त चौधरी थारु महामन्त्रीको उम्मेदवार हुन सक्छन् । मधेसी सह-महामन्त्रीमा महेन्द्र यादव र अजय चौरासियाको दाबेदारी छ । जसमध्ये महेन्द्र यादवको सम्भावना बलियो छ । पिछडिएको क्षेत्रको सह-महामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उम्मेदवारी दिने सम्भावना छ ।

यस्तै दलितको तर्फबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा सह-महामन्त्रीका दाबेदार हुन् । जसमध्ये मीनबहादुरको सम्भावना बलियो देखिएको छ । पदाधिकारीमै उम्मेदवारको टुंगो लागिनसकेकाले केन्द्रीय सदस्यहरूको टुंगो लगाउन अझै बाँकी छ । 

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो टिम बनाउन सकेका छैनन् । पौडेलको टिममा रहेका शंशाक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासमेत सभापतिको आकांक्षी भएकाले पौडेलको टिमबाट सभापतिको उम्मेद्वार एउटा बनाउनै चुनौति थपिएको छ । त्यसैले पनि पौडेल आफैँले अहिले कुनै टिम बनाउन सकेका छैनन् । 

यस्तै सभापतिका अर्का आकांक्षी केन्द्रीय सदस्य डा.शेखर कोइराला पनि टिम बनाएर अघि बढ्ने तयारीमा छन् । आफ्नो टिमबारे घोषणा नगरे पनि उनीसँग युवाहरूको टिम रहेको चर्चा चलेको छ । शेखरनिकट स्रोतका अनुसार, उनले पदाधिकारीका लगभग टिम बनाइसकेका छन् । डा. शेखरको उपसभापतिमा रामशरण महत, अर्जुननरसिंह केसी र चन्द्र भण्डारीको  चर्चा छ । यसमध्येबाट दुई जना उपसभापतिको उम्मेदवार हुन सक्‍नेछन् । 

यस्तै महामन्त्रीमा दिलेन्द्र बडू, गगन थापा र धनराज गुरुङको दाबेदारी छ । गुरुङले आफू शेखरको महामन्त्री भएर उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यस्तै महामन्त्रीको उम्म्मेदवारी घोषणा गरिसकेका गगन थापा १३औं महाधिवेशनमा महामन्त्री लडेको कृष्णप्रसाद सिटौला प्यानल छोडेर शेखरसँग नजिकिएको स्रोतले बताएको छ । 

यस्तै सह-महामन्त्री खुलामा गुरु घिमिरे, दीपक गिरी र हृदयराम थानीको दाबेदारी छ । घिमिरे प्रदेश–१ को सभापति र थानी कर्णाली प्रदेशको सभापतिको उम्मेदवार बन्ने सम्भावना पनि छ । त्यसो भएमा गिरी सह-महामन्त्रीको उम्मेदवार सजिलै बन्न सक्छन् ।

समावेशी महिला सह-महामन्त्रीमा सरिता प्रसाईं र कमला पन्तको दाबेदारी छ । दुईमध्ये प्रसाईंको सम्भावना बलियो छ । यस्तै, जनजाति सह-महामन्त्रीमा ‘पर्ख र हेर’को अवस्थामा शेखर कोइराला छन् । मधेसी सह-महामन्त्रीमा रामकृष्ण यादव, अमरेश सिंह र रञ्जित कर्णको दाबेदारी छ । अमरेश प्रदेश–२ को सभापति र कर्ण केन्द्रीय सदस्यको उम्मेद्वार भएको खण्डमा रामकृष्णको सम्भावना बलियो देखिएको छ ।

यस्तै पिछडिएको क्षेत्रको सह-महामन्त्रीमा बद्री पाण्डे उम्मेदवार छन् । पिछडिएको क्षेत्रबाट भुपेन्द्रजंग शाहीको पनि दाबेदारी रहेपनि शाही तरुण दलको महामन्त्री भएकाले पाण्डेको सम्भावना छ । मुस्लिम सह-महामन्त्रीमा अझै टुंगो लागिसकेको छैन । शेखरको आफूनिकट दाबेदार नभएकाले अन्य टिममा रहेका नेताहरूलाई चोर्नुपर्ने अवस्था छ ।

यसैगरी थारुबाट सह-महामन्त्रीमा पदम नारायण चौधरी, उमाकान्त चौधरी र रामजनम चौधरीको दाबेदारी छ । शेखरलाई सिटौलाले साथ दिएको खण्डमा उमाकान्त चौधरी सह-महामन्त्रीको उम्मेदवार हुन सक्छन् । यदि शेखर र गच्छदार एकै टिममा भएको खण्डमा रामजनम चौधरीको सम्भावना पनि बलियो छ । समावेशीअन्तर्गत दलितका तर्फबाट जीवन परियार र प्रकाश स्नेही सह-महामन्त्रीका दाबेदार छन् । 

यस्तै सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंहको कुनै टिम बनिसकेको देखिँदैन् । उनले सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । तर उनको टिमबाट उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा को–को हुन्छन् भन्‍ने अझै खुलाएका छैनन् ।

स्रोतका अनुसार, सिंहले आफ्नौ छुट्टै टिम बनाउन सभापतिमा एकल उम्मेदवारी मात्रै दिनेछन् । तेस्रो धारको नेतृत्व गरेका कृष्ण सिटौलाले पार्टीदेखि पार्टी सरकारमा रहँदासम्म अनेक पदमा भागबन्डाको फाइदा लिएको देखेर उनले पनि आफ्नो छुट्टै टिम बनाउन लागेका हुन् । सभापतिमा जित्नेभन्दा पनि पछि पार्टीमा भागबन्डा लिन सजिलो होस् भन्नका लागि उनले उम्मेदवारी दिन लागेका हुन् । 

सभापतिका अर्का आकांक्षी सिटौलाको महामन्त्री प्रदीप पौडेल उठ्ने घोषणा गरिसकेका छन् । यद्यपि सिटौला सभापतिमा अन्तिमसम्म उम्मेदवार हुन्छन् कि हुँदैनन् भन्‍ने शंका उब्जिएको छ । उनका बलियो सारथि गगन थापाले उनको साथ छाडिसकेका छन् ।

उनीसँग भएका शिव हुँमागाईं, उमाकान्त चौधरीलगायतका नेता पनि देउवा पट्टि नै लचिलो देखिन्छन् । उनका साथमा रहेका नेताहरूलेसमेत देउवासँग मिलेर चुनाव लड्न सुझाव दिएको स्रोतले बताएको छ । देउवाले पनि आफ्नो टिमबाट नीधि बाहिरिएसँगै सिटौलालाई साथमा लिने कसरत गरिरहेका छन् ।

यस्तै, अर्का आंकाक्षी सशांक कोइरालाले सभापतिमा लड्ने घोषणा गरेपनि उनले आफ्नौ टिम बनाउन सकेका छैनन् । उनको टिमबाट मिनेन्द्र रिजालले महामन्त्रीमा उठ्ने घोषणा गरेका छन् । अन्य पदाधिकारीको विषयमा केही टुंगो लाग्न नसकेको स्रोतले बतायो । 

कोइराला परिवारबाट एकमात्र उम्मेदवार हुने शेखर, सशांक र सुजाता कोइराला तीनै जनाको दाबी छ । शशांक र शेखरमा एक जना सभापतिको उम्मेदवार बन्ने सम्भावना छ । यद्यपि शेखरले आफू यसपटक हरहालतमा सभापतिको उमेद्वार हुने बताउँदै आएका छन् ।  १३ औँ महाधिवेशनमा महामन्त्रीमा सशांकलाई साथ दिएकाले शशांकले अन्तिममा दाजु शेखरलाई नै सहयोग गर्न सक्ने बताइएको छ ।

यस्तै सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेकी छ‍न् । उनले संस्थापन इतरबाट एक मात्र उम्मेदवार भए आफू बाधक नभएको पनि बताउँदै आएकी छन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङको पनि कुनै टिम छैन । उनले सभापतिमा मात्रै उम्मेदवारी दिने बताउँदै आएका छन् ।


Author

थप समाचार
x