दल

कांग्रेसको महाधिवेशन:

एउटा मतदातालाई भोट हाल्न एक घण्टा लाग्‍ने, २९ वटा मतपत्र !

क्रियाशील सदस्यको संख्या ८ लाख ४० हजार

सन्तोष अधिकारी |
मंसिर १६, २०७८ बिहीबार ११:९ बजे

काठमाडौँ - कांग्रेसको १४औ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयन गर्न एक मतदातालाई करिब एक घन्टा लाग्ने बताइएको छ। कांग्रेस प्रचार विभागका प्रमुख तथा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले २९ वटा मतपत्रमा मतदान गरेर नेतृत्व चयन गर्नेछन् ।
 
'यो महाधिवेशनमा २९ वटा मतपत्रमा मतदाताले भोट हाल्नेछन्' उनले भने, 'एउटा मतदातालाई नेतृत्व चयन गर्न भोट हाल्न लाग्ने समय करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।'

महाधिवेशनमा भोट हाल्नका लागि तीन ठाउँ तय गरिने पनि शर्माले जानकारी दिए । शर्माकाअनुसार काठमाडौस्थित भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा भोट हाल्ने व्यवस्था हुनेछ । भोटिङ प्रणाली कागजी नै हुने उनको भनाइ छ । 'भोट कसरी हाल्ने भन्ने कुरा ल्यापटपबाट डेमो देखाइने छ,' उनले भने, 'तर भोटिङ चाहिँ कागजी नै हुनेछ ।' 


कांग्रेस प्रचारप्रसार समितिले पार्टीको प्रचार विभाग, नेपाल प्रेस युनियन, विभिन्न भ्रातृसंगठन, जनसम्पर्क समितीका पदाधिकारीलाई समेटेर पार्टीको प्रचार अभियान सुरु गरेको छ। उक्त समितिको लोगो आजबाट सुरु हुने प्रदेश महाधिवेशन उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् ।

कांग्रेसले 'उत्साह, एकता, रुपान्तरण, सफल बनाऔ कांग्रेसको १४ औं महाधिवेशन' भन्ने नारा पनि तय गरेको छ । शर्माले एमालेको महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसको महाधिवेशनमा उम्मेदवारलाई भोट नहालौ भनेर पर्चा नबाडिने पनि बताए । 'कांग्रेसको अधिवेशन यस्तो हुनेछैन। जहाँ एक उम्मेदवारलाई भोट नहाल भनेर पर्चा बाड्ने छैन' उनले भने । 

कांग्रेसका प्रचार विभागका सदस्य दिपेश विष्टका अनुसार क्रियाशील सदस्यको संख्या ८ लाख ४० हजार १०६ छ । 

कुन प्रदेशमा कति क्रियाशील 
प्रदेश १ - १७४८१३
प्रदेश २ - १००९९९
बागमती प्रदेश- १७६३३५
गण्डकी प्रदेश - ११८१४५
लुम्बिनी प्रदेश - १३१११७
कर्णाली प्रदेश - ५३५९६
सुदूरपश्चिम प्रदेश - ७५१०१

त्यस्तै कांग्रेसले क्रियाशील सदस्यहरुमा दलित ४४१७७, आदिवासी जनजाती २०६७३६, मुस्लिम १६१८२, थारु २७३३८, मधेसी ८९४३९, खसआर्य ३६७२७४, पिछडिएको क्षेत्र १४३०६, अपांग १८२, अल्पसंख्यक ६६२५ जना रहेको जनाएको छ ।

क्रियाशील सदस्य रहेका मध्य पुरुष ६४४५६५, महिला १९५३७२ र अन्य १६९ रहेको शर्माले जानकारी दिए ।


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x