दल

माओवादी महाधिवेशन : प्रतिनिधि भन्छन्—पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्छ

इकागज |
पुस १८, २०७८ आइतबार १३:१८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन् । चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत बन्दसत्रमा उठेको भए पनि बढीभन्दा बढी प्रतिनिधिहरूले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतीमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउँछन् । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उनले बताए ।


पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ ।

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टीभित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत्प‌रूपले कमिटी निर्माण गर्नुपर्ने बताए । पार्टीले संगठित रूपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उनको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उनको तर्क छ ।

प्रतिनिधि लिलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद् बन्ने बताए । प्रतिस्पर्धाबाट आएमा नेताहरूले आफ्नो क्षमता देखाएर अगाडि बढ्न सक्ने उनले बताए । त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरे पनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताए । हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उनले चुनाव गरे पार्टी नबन्ने उनले बताए । सहमति, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उनको भनाइ छ । 

प्रतिनिधि विरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताए । चुनाव भएमा पैसावाल मान्छेहरूको हालिमुहाली हुने भएकाले चुनाव गर्नु नहुने उनको भनाइ छ । चुनावी प्रणालीलाई नमान्ने उनले बताए । 

प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँ भन्दा पार्टीलाई सर्वसम्मत् रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । उनले चुनावलाई केवल जित र हारको संज्ञा दिदैँ सर्वसम्मतीमा कसैले जित्ने हार्ने नहुने टिप्पणी गरे । पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उनले बताए ।


Author

थप समाचार
x