दल

राष्ट्रिय सभा निर्वाचन : एमालेले प्रदेश १ बाट घिमिरे, भण्डारी, शेर्पाकाे नाम टुंगाे लगायाे

बाबुराम भण्डारी |
पुस १९, २०७८ सोमबार १७:२७ बजे

विराटनगर - नेकपा एमालेले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट उम्मेदवारको नाम टुंगो लगाएको छ । रिक्त रहेको कुल १९ वटा सदस्य पद मध्ये प्रदेश १ मा रिक्त रहेको तीन सदस्यमा देवराज घिमिरे (अन्य), सुमित्रा भण्डारी (महिला) र सोनाम ग्याल्जेन शेर्पा (अल्पसंख्यक/अपांग) लाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार घिमिरे र भण्डारी झापाका हुन् । त्यसैगरी शेर्पाको जिल्ला सोलुखुम्बु रहेको जनाइएको छ । प्रदेश १ मा महिला, अल्पसंख्यक/अपांग र अन्यतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मंगलबार मनोनयन दर्ताको समय तोकिएको छ ।


एमालेबाटै निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरुमा महिला तर्फकी नैनकला ओझा, अल्पसंख्यक/अपांग तर्फ अगम प्रसाद बान्तवा राई र अन्य तर्फका पर्शुराम मेघी गुरूङको पदावधि सकिँदैछ । उक्त स्थानमा उपनिर्वाचनबाट सदस्यको चयन हुन लागेको हो । प्रदेश १ मा एमालेले राप्रपाको समर्थन खोजेको जनाइएको छ । सत्ता पक्षीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एक/एक सिट बाँडफाँट गर्ने सहमति भइसकेको छ । जस अनुसार कांग्रेसले झापाका गोपाल बस्नेतलाई अन्यतर्फ उम्मेद्दवार बनाउने निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले उम्मेदवारको नाम टुंग्याउन बाँकी छ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेश १ मा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीस भरत लम्साल निर्वाचन अधिकृत तोकेको हो । सोही अनुसार कार्यालय संचालन गरी निर्वाचनको प्रक्रिया अघि बढाएको जनाइएको छ । कार्यालयले सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएपछि पुस २५ गते आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १८ रहेको छ । जस अनुसार प्रदेश १ मा प्रदेश सांसदको हालको कायम संख्या ९२ को आधारमा ४ हजार ४१६ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी २७२ जनाको कुल मतभार ४ हजार ८९६ रहेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x