दल

देउवा-ओली भेट

ओली भन्‍छन्— दुई जनाबीच राम्रो कुराकानी भयो

इकागज |
पुस २४, २०७८ शनिबार १३:७ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेले संसद् निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका थिए । भेटपछि एमाले अध्यक्ष ओलीले आफूहरूबीच राम्रो कुराकानी भएको बताए ।  ‘उहाँसँग कुराकानी भयो । दुई जनाबीच राम्रो कुराकानी भयो, भेटवार्तापछि ओलीले भने । 

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरूलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ । सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभपति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दिएको थियो ।


प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौंता संसदबाट पारित गराउनुपर्ने दबाब पनि छ । तर ती विषयहरूमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ । एमालेले आफ्नो पार्टीको संसदीय दलले निश्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ ।


Author

थप समाचार
x