दल

‘प्रचण्ड’को टाउकोमा टेकेर ओली आफुलाई अग्लो देखाउँथे : माधव नेपाल

इकागज |
पुस २४, २०७८ शनिबार १४:५० बजे

फाइल फोटो

काठमाडाैँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए । अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउँकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गरेका हुन् ।

ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उहाँको दावी थियो । अध्यक्ष नेपालले भने, ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन, उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन् । जसले उसलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भईसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत । बालुवाटारबाट बालकोट पुग्ने वित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो । सुन्नुस् कस्तो हुन्छ ती विशेषता–जो आफूलाई ज्यादै स्र्माट सम्झिन्छ । त्यसको अर्को विशेषता–आफै जान्ने, अरु कोही नजान्ने भनेर अरुको कुरा सुन्दै नसुन्ने प्रवृत्ति हुन्छ । तेस्रो, उसले सबैको अनादर गर्छ । आफ्नो मात्रै आदरको चाहना राख्छ । त्यो नेतामा सिक्ने प्रवृत्ति हुँदैन । उसले जे बोल्छ, अमर्यादित कुरा मात्रै बोल्छ । कहिल्यै गल्ती स्विकार गर्दैन । कहिल्यै क्षमायाचना गर्दैन । सबैलाई हेप्ने प्रवृत्ति उसमा रहेको हुन्छ । आफूले गज्जव काम गरे भनेर गुड्डी हाँकेर हिँडछ । आफ्नै प्रशंशामा मग्न हुन्छ । अनि पीडाको भावनाले ग्रसित हुन्छ । यो कसमा छ ? जाँच्ने काम तपाईको । हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौ । हामी पहिले खुसी भएका थियौं । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए । किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौं । मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे । लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने मान्छे । रोल्पा पुर्‍याउने कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई दिल्लीसँगै लिएर गएर वार्ता र सहमती गराउने मान्छे । तत्कालीन राजा ज्ञानेन्द्रलाई युद्धलाई अन्त्य गरौं भन्दा सुनेको नसुनै गरे । त्यसपछि आफै हामीले पहल गर्‍यौं । यस्तो अवस्थामा एउटा ठूलो राम्रो अवस्था आयो भनेर खुशी भएको । झण्डै दुई तिहाईको अवस्था भएको देखिएको । हामी प्रफुल्ल भयौ तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँडीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यहीँ प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नु भयो । बैठकनै नगर्ने ।’


अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । उनले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए । उनले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत गराए । 


Author

थप समाचार
x