दल

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा लफडा (भिडियाेसहित)

दीपक उपाध्याय |
पुस २५, २०७८ आइतबार १८:१५ बजे

कैलाली - नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि समयमा निर्वाचन नभएपछि कार्यकर्ताहरुले नाराबाजी गर्दै मतपेटिका बाहिर फालिदिएका छन् । निर्वाचनका लागि पूर्वमन्त्री समेत रहेका नारदमुनी रानाको टिम केही खबर नै नगरी बेपत्ता भएपछि कार्यकर्ताहरुले नाराबाजी गरेका हुन । 

साँझ ४ बजेदेखि हुने भनिएको निर्वाचनको कुनै सुरसार नै नभएको र राति मतदान गर्न नहुने भन्दै आक्रोशित कार्यकर्ताहरुले नाराबाजी गरेका हुन । झडपको स्थिति सृजना हुने भएपछि प्रहरी परिचालन गरिएको छ । 


अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ। उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ। सचिवमा दान बहादुर विक र डेजी पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ।

१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्लातर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५/५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्।

दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्। मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ। अध्यक्ष सहित १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x