दल

गठबन्धन बैठक: निर्वाचनसम्मै सहकार्य, बेथितिविरुद्ध भण्डाफाेर

इकागज |
माघ ५, २०७८ बुधबार १७:४० बजे

ओखलढुंगा – सत्ता साझेदार दलहरूकाे बैठकले ओखलढुंगामा गठबन्धन प्रभावकारी बनाउन एकजुट हुने निर्णय गरेकाे छ । सत्तारुढ दलहरूका जिल्लास्थित प्रमुख नेताहरू सहभागी बैठकले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेवारलाई मतदान गर्ने, विकासका याेजनामा भएका आर्थिक अनियमितता र बेथितिका विरुद्ध भण्डाफाेर अभियान संयुक्त रुपमा चलाउने भएकाे हाे ।

गठबन्धलाई स्थायी र दिगाे बनाउँदै निर्वाचनसम्मै गठबन्धन कायम राखेर विकास निर्माणका काममा सहकार्य गर्ने बैठकले निर्णय गरेकाे बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए । 


नेपाली कांग्रेसकाे जिल्ला कार्यालयमा भएकाे बैठकमा कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति कमल तामाङ, सचिव अजय लुइँटेल, नेकपा माओवादी केन्द्रका नेता निशान्त शर्मा र गुणकुमार राई, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्ले, जनता समाजवादीका धीरेन्द्र रुम्दाली र खेमराज खड्का, राष्ट्रिय जनमाेर्चाका धनराम श्रेष्ठ लगायत नेताहरू सहभागी थिए । 

बैठकमा एमाले सरकारमा हुँदा बजेट परेका याेजनामा अहिले व्यापक भ्रष्टाचार भएकाे, सांसदहरुकाे संरक्षणमा याेजनामा कमिसन असुल्ने काम भइरहेकाे गुनासा आएकाले प्रभावकारी अनुगमन तथा भण्डाफाेर अभियान चलाउने विषयमा छलफल केन्द्रित भएकाे नेकपा माओवादीका प्रदेश सदस्य निशान्त शर्माले बताए ।

स्थानीय तह र प्रदेश कार्यालयबाट भएका काममा अनियमितता भएकाे चाैतर्फी गुनासाे आएकाे अनियमितता मा जनप्रतिनिधि नै मुछिएकाे विषयमा आगामी बैठकमा थप छलफल हुने नेताहरुले बताएका छन् । 


Author

थप समाचार
x