दल

मधेसमा सिके राउत: अराजकता फैलाएर शक्ति आर्जन गर्ने दाउ

सुभाष कर्ण |
माघ १७, २०७८ सोमबार १२:४८ बजे

घटना- १ 
असोज १८ गते : जनमत पार्टीका कार्यकताले जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरे । कारण थियो अध्यक्ष सिके राउतको घर जाने बाटो ममर्त नगरेको । उनीहरूले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरे । नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीले रोकेपछि उनीहरूले  न्यायिक समितिमा तोडफोड गरे ।

घटना- २ 
कात्तिक ४ गते : जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुश्वाहामाथि कालोमोसो दले । कालोमोसो मात्रै दलेनन् अर्धनग्‍न बनाएर नगर परिक्रमा गराए । कारण थियो बाटो मर्मत नगरेको । कालोमोसो दलेपछि उनीहरूले अर्को पनि कारण थपे 'भष्टाचारमा लिप्त' भएको । जनमत पार्टीका अध्यक्ष राउतको घरअगाडि ढल निर्माणका क्रममा खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा थप समस्या भइरहेको उनीहरूको आरोप थियो ।


घटना- ३
कात्तिक १२ गते : धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित फकिर चन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई दुर्व्यवहार गरे । सीके राउतका कार्यकर्ताले साहलाई चप्पलले हान्‍नुका साथै कालोमोसो दले ।

घटना- ४
पुस ११ गते : तराईमा मलको हाहाकार मच्‍चियो । किसानहरूले सिरहाको औरही गाउँपालिकामा गहुँको बीउ लुटेको भन्दै प्रहरीले चार जना किसानमाथि मुद्दा दायर गरी एक जना पक्राउ गरेपछि सिरहा बन्द गरे । बन्दका क्रममा आधा दर्जन गाडीमा तोडफोड र ट्रकमा आगजानी गरे । पुस २१ गते पनि उनीहरूले मधेसका ६ जिल्ला बन्द गरे । माग थियो पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई । बन्दका क्रममा उनीहरूले दर्जनौँ सवारी साधनमा तोडफोड गरे । ट्रकमा आगजनी गरे ।

घटना- ५
माघ १२ गते : राष्ट्रिय सभा सदस्य निर्वाचन भाँड्ने उद्देश्यले जनकपुरधामको महेन्द्रनारायण निधि संग्राहलय भवन निर्वाचन स्थलअगाडि नै प्रदर्शन गर्न खोज्दा प्रहरीसँग दोहोरो झडप भयो । जनकपुरधामको विभिन्‍न स्थानमा प्रदेश सभा सदस्य र स्थानीय तह जनप्रतिनिधिले चढेको ६ वटा गाडीमा तोडफोड र महोत्तरी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सतिश साहलाई सरकारी गाडीमा तोडफोड गरे ।

०००
माथि उल्लेखित घटनाले राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय तराई-मधेसमा मच्यारहेको विध्वशं देखाउँछ । यी प्रतिनिधि घटनामात्रै हुन् । यस्ता घटना तराई-मधेसमा दिनहुँ प्रायः हुन थालेका छन् । जनमत पार्टीका कार्यकर्ताले आन्दोलनका नाममा अराजक/उच्चश्रृंखल गतिविधिलाई निरन्तरता दिएका छन् । उनीहरूले मूलतः दुईटा विषय जोडतोडले उठाएका छन् । ती मुद्दा जायज छन् । मुद्दा जुनसुकै भए पनि ‘कानुन हातमा लिएर’ गरिने गतिविधिको चौतर्फी विरोध भइरहेको छ ।

कर्मचारीलाई कालोमोसो दलेर अर्धनग्‍न नगर परिक्रमादेखि प्रहरी निकायलाई जनकारबाहीसम्मको चेतावनी दिने काम राजनीतिक गतिविधि हुन् ? मन्त्रीहरूलाई मधेस प्रदेशमा निषेधसहित राष्ट्रिय सभा चुनाव भाँड्नेसम्मका काम उनीहरूका कार्यकर्ताले गरेका छन् । 

लाठी/भाटा त उनीहरूको पर्चा/पप्पलेटजस्तो भइसक्यो । ‘जनकारबाही’ उनीहरूको नारा । दिनहुँ बोकेर हिँड्छन् । सानो आन्दोलन गर्नुपर्‍यो कि लाठी बोकेर सडकमा निस्किन्छन् ।

तराई-मधेसमा अरु दलका गतिविधि शून्य प्रायः भएका बेला राउतले आफ्नो राजनीतिक स्पेस बलियो बनाउन उछृङखल गतिविधिलाई बढावा दिएका छन् । एकताका राष्ट्रिय अखण्डताविरोधि नारा उरालेर तराई-मधेसमा विध्वंश मच्चाउन खोजेका राउतले सरकारसँग सम्झौता गरेर उन्मुक्ति पाए । अहिले फेरि किसान आन्दोलन र भ्रष्टाचार विरोधी आन्दोलनका नाममा अराजक गतिविधि गरेर फेरि मधेसलाई अशान्त पार्न खोजेका छन् ।

राउतका गतिविधिले तराई-मधेस केन्द्रित दलहरू समेत त्रसित छन् । विभाजनको सिकार बनेका उनीहरूलाई आगामी चुनावमा समेत यसले असर गर्ने आँकलन गरिरहेका छन् । यसलाई पुष्टि गर्छ माघ ५ गते बलिदानी दिवशमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति । मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष सिके राउत र उनका कार्यकर्ताहरुलाई गौर नरसंहार घटना दोहोर्‍याउने चेतावनी दिएकी थिइन् । जसको पछि व्यापक आलोचना भयो ।  

सही मुद्दामा गलत तरिकाको आन्दोलन
राउतले उठाएका मुद्दामा कसैको असहमति छैन । तर, उनले गरिरहेका अराजक गतिविधि भने गैरराजनीतिक खालका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश प्रमुख सचेतक परमेश्वर साहले पनि जनमत पार्टीले उठाएका मुद्दा सही भएको बताउँछन् ।

राज्यले गम्‍भीर भएर उनीहरूका माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । तर, सही मुद्दाका नाममा गरिने आन्दोलनमा भएका गलत क्रियाकलाप भने गलत भएको उनी बताउँछन् । ‘जनमत पार्टीले जुन मुद्दा उठाएर आन्दोलन गरिरहेको छ । ती मुद्दा जायज छन्,’ उनले इकागजसँग ने, ‘जायज माग राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्छ । तर आफ्ना माग सम्बोधन गराउन जनमत पार्टीले आन्दोलनको क्रममा गरेको अराजक र अपराधिक गतिविधि गर्नु गलत हो ।’

आन्दोलनको क्रममा सार्वजनिक गाडीमा तोडफोड, आगजनी र जनप्रतिनिधि तथा चिकित्सकलाई कुटपिट गरेर घाइते बनाउने गतिविधि गलत भएको उनको भनाइ छ । लोकतान्त्रिक प्रक्रियामा शान्तिपूर्ण आन्दोलन र विरोध गर्न पाउने अधिकार भए पनि त्यसको नाममा अराजक र अलोकतान्त्रिक गतिविधि गर्न नहुने उनले बताए । 

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव लोसपा नेता पनि साहको तर्कसँग सहमत छन् । उनीहरूका माग सरकारले सम्बोधन गर्नुपर्ने उनले तर्क गरे । ‘जनमत पार्टीका माग जायज छन् । सरकारले तत्काल सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘तर आन्दोलनको नाममा तोडफोड तथा आगजनी, कुटपिट गर्नु गलत क्रियाकलाप हुन् ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री भरतप्रसाद साहले पनि जनमत पार्टीले किसानका लागि उठाएका मागलाई जायज रहेको बताए । तर आन्दोलनको क्रममा गरिएको गतिविधिलाई उनले अराजक र एवं अपराधिक कार्यको संज्ञा दिए । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका साहले आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी गाडीमा तोडफोड र आगजनी गर्नु सरासर गलत भएको टिप्पणी गरे । 

जनमत पार्टीले उठाएका मागहरू नाजायज छैनन् । तर आन्दोलनको प्रवृत्ति गलत छ । उनीहरूले गरिरहेका क्रियाकलाप गैरराजनीतिक छन् । कार्यकर्ताले हिंसा मच्चाउन खोजिरहेका छन् । कानुन हातमा लिन खोजिरहेका छन् । अराजकताको बलमा शक्ति आर्जन गर्ने दाउमा राउत र उनको पार्टी देखिएको छ ।

उनीहरूका यस्ता गतिविधिमा प्रहरी/प्रसाशन कतिपयमा मौनजस्तो छ । कतिपय अवस्थामा निरिह पनि बनेको देखिन्छ । सरकारले पनि यसलाई सामान्य ढंगले हेरेको जस्तो देखिन्छ । तर, हिंसात्मक आन्दोलनलाई सरकारले चाँडै नियन्त्रणमा लिन सकेन भने भविष्यमा ठूलो रूप लिन सक्छ । तसर्थ उनीहरूका जायज माग समबोधनमा सरकारले गम्भीरता देखाउनुपर्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x