दल

ओली स्पष्ट, देउवा अलमलमा

पुष्पराज आचार्य |
फागुन ६, २०७८ शुक्रबार १३:७ बजे

काठमाडौँ– नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता, मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदबाट अनुमोदन गराउने संसदीय दलबाट निर्णय गरिसकेको छ । एमसीसी सम्झौताका सम्बन्धमा नेपाली कांग्रेसले धारणा पनि सार्वजनिक गरिसकेको छ । 

तर सत्ता गठबन्धमा नेपाली कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (उपेन्द्र यादव समूह), राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता संसदबाट अघि बढाउने विपक्षमा छन् । माओवादीले आफ्नो संसदीय दलबाट एमसी सम्झौताको विपक्षमा मतदान गर्ने र सरकार छाड्ने बताइसकेको छ । नेकपा एकीकृत समाजवादीले शनिबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । एकीकृत समाजवादी एमसीसीप्रति ललिलो बनेको छ भने जनता समाजवादीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समूह यसको पक्षमा छन् । 


सत्ता गठबन्धनमा सहमति नजुट्ने लगभग निश्चित भैसकेको छ । आज विहान बसेको बैठक पनि निष्कर्षविहीन भयो । बिहीबारको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसमा अमेरिकाले कुनै सैन्य स्वार्थ राखेमा यसलाई तोड्नेगरी संकल्प प्रस्ताव पारित गरेर एमसीसी पास गरौं भनेका थिए । त्यसो त एमसीसी कम्प्याक्टमा पनि एक महिनाको अग्रिम सूचना दिएर सम्झौता तोड्ने निर्णय दुवै देशले एकपक्षीय रूपमा लिन सक्ने व्यवस्था छ । 

गठबन्धनमा सहमति नजुट्ने यकिन हुँदा हुँदै पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटी बैठकबाट निर्णय गर्छौं भनेकाले एक दिन पर्खने निर्णय भएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

किन अलमलमा छन् देउवा ? 

देउवा आफैंले एमसीसी सम्झौता सदनमा टेबुल गर्न राखेको भाका आफैंले दुईपटक सारिसकेका छन् । पाँचौ पटक प्रधानमन्त्री रहेका देउवा यतिबेला सरकार संकटमा पर्न सक्ने र एमालेसँग माओवादी मिल्न सक्ने संशयका कारण अलमलमा छन् । 

‘उनी एमसीसी पास गराउन पनि चाहान्छन्, यही गठबन्धन बचाउन पनि चाहान्छन् अनि माओवादी र एमाले नमिलून् भनेर पनि चाहान्छन्,’ एक नेताले भने, ‘यी सबै कुरा सम्भव छैन । त्यसकारण देउवा आफैं प्रष्ट भएर अघि बढ्नुपर्छ ।’ 

सबैभन्दा पहिले त सदन खुलाउनका लागि उनले एमालेसँग संवाद अघि बढाएका छन् । सदन खुलाउन एमालेबाट फुटेर गएका एकीकृत समाजवादीका १४ सांसदले मान्यता पाउन नहुने र सभामुख हटाउनुपर्ने एमालेको बटम लाइन छ । 

त्यस्तै, एमसीसी पास गराउनका लागि गठबन्धन टुटाएर आउनुस् भनेर एमाले अध्यक्ष ओलीले देउवालाई स्पष्ट सन्देश दिइसकेका छन् । 

देउवा आफैंले अब निर्णय लिन सकेका छैनन् ।  उनलाई आगामी चुनावमा एमाले र माओवादी मिल्ने हुन् कि भन्ने डर देखिन्छ । 

तर ती नेताका अनुसार, देउवाले चाहेजस्तो एमालेको विरोधकै बीचमा एमसीसी अनुमोदन गर्दा यो प्रक्रियामा एमालेको स्वामित्व हुँदैन भने माओवादी पनि विपक्षमा उभिनेछ । यसले उनीहरू मिलेर जाने बाटो खुला हुनेछ । 

‘संसदमा प्रमुख प्रतिपक्षीलाई बाहिर राखेर यो सम्झौता नाराबाजीका बीच अनुमोदन गराउनेतिर जानु पनि हुँदैन,’ ती नेताले भने, ‘त्यो खण्डमा एमसीसीमा कुनै भूमिका नभएको भनेर एमाले र विपक्षमा रहेको भनेर माओवादीले यसलाई चुनावी मुद्दा बनाउन सक्छन् । एमाले प्रक्रियामा सहभागी भैसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग नजिकिने सम्भावना कम हुन्छ ।’ 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने अब बसेर, उठेर, ढल्किएर जसरी संवाद गरे पनि गठबन्धनमा सहमति नजुट्ने बताए । 

देउवाले यो प्रक्रियामा एमालेसँग समझदारी गरेर ६ महिनापछि निर्वाचन गर्नेगरी अघि बढ्नु उचित हुने अधिकांश कांग्रेस नेताहरूको सुझाव छ । केही दलले एमसीसी सम्झौताका सम्बन्धमा जनतामा फैलाएको भ्रम चिर्न पनि कांग्रेस र एमाले मिलेर जानुपर्ने उनीहरूको धारणा छ । यद्यपि उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल, गठबन्धन निर्माणकर्ता पूर्णबहादुर खड्का र वरिष्ठ नेता कृष्णप्रसाद सिटौला भने गठबन्धन जोगाउने पक्षमा छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँगको भेटमा ओलीले स्पष्ट भनेका छन्, ‘तपाईं निधो गरेर आउनुस् । एमसीसी हाम्रा लागि नयाँ विषय होइन र हामी यसमा प्रष्ट छौं । म माधव र प्रचण्डलाई बोक्नेवाला पनि छैन ।’ 

तर देउवामा अझै पनि एमालेसँग मिलेर जान संशय छ भने ओली पनि देउवा अलि लामो समय प्रधानमन्त्री हुन पाइने भएकाले गठबन्धन तोडेर आउनेमा शंका गर्छन् । यद्यपि, अब बल प्रधानमन्त्री शेरबहादुर देउवाकै कोर्टमा छ । ओली स्पष्ट भएपनि देउवा भने अलमलमै छन् । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x