दल

दाहाल, नेपाल र सभामुखमाथि ओलीको ‘व्याख्यात्मक टिप्पणी’

पुष्पराज आचार्य |
फागुन १७, २०७८ मंगलबार १६:२१ बजे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता (कम्प्याक्ट) जस्ताको तस्तै अनुमोदन भएको र संसदले पास गरेको व्याख्यात्मक घोषणा (इन्टरप्रेटीभ डेक्लरेसन)को कुनै अर्थ नभएको बताएका छन् । 

उनले उक्त घोषणा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लाज छोप्नका लागि र कार्यकर्ताको आँखामा छारो हाल्नका लागि प्रयोग गरिएको पातलो पर्दा जस्तो भएको भन्दै दाहाल, नेपाल र सभामुख अग्निप्रसाद सापकोटामाथि थप ‘व्याख्यात्मक टिप्पणी’ गरेका छन् । 


दाहालले अवसरवादी छेपारेपन देखाउँदै उक्त सम्झौताका बारेमा ६ थरी कुरा गरेको एमालेको आरोप छ । एमसीसी सम्झौताका सम्बन्धमा अढाई वर्षमा कहिले केपी ओलीलाई सत्ताबाट फ्याँकेपछि अनुमोदन गर्ने, कहिले ४–५ महिना समय पाऊँ पारित गर्छौं, फेरि चुनावपछि गरौंला, अनि अलिक अगाडि बढेर संसद् बहिष्कार गरेर पास गर्न सहयोग गर्छौं र अन्त्यमा लाज छोप्ने पातलो र पारदर्शी पर्दा पाउँ अनि पारित गर्छौं भनेकाे भन्दै एमालेले दाहाललाई कटाक्ष गरेकाे छ । 

‘४–५ महिनामा पास गर्छु भनेर दायाँ–बायाँ हस्ताक्षर गरेर कबुलियतनामा सेप्टेम्बरे २९, २०२१ मा अमेरिका पठाइएको थियो,’ ओलीले भने, ‘सरकारले गर्नुपर्ने पत्राचारमा अर्को व्यक्ति (दाहाल) कुन हैसियतमा त्यहाँ संयुक्त पत्राचार गर्न पुगेका हुन् ? यतिसम्म भएको छ ।’ 

ओलीले दाहाल चिनियाँ नाटकमा मुकुण्डो लगाएको कलाकारले टाउको यताउता घुमाउँदा फरक–फरक देखिने पात्रजस्तो भएको बताए । ‘टाउको दायाँ फर्काउँदा सम्राटजस्तो, अर्कोतिर टाउको घुमाउँदा जर्नेलजस्ता, अर्कोतिर घुमायो कामदार जस्तो । विहान एउटा, दिउँसो अर्को, साँझ अर्को, भोलिपल्ट अर्थोकै कुरा गर्नहुन्छ साथीहरू’ ओलीले दाहाललाई लक्षित गर्दै भने, ‘ यहाँ नि अमेरिकातिर हेर्दा एउटा देखिने, गठबन्धनमा एउटा, कार्यकर्तामा एउटा अनुहार देखिने व्यक्ति छन् । भ्रम नरहोस्, एमसीसी सम्झौता (कम्प्याक्ट) जस्ताको तस्तै पारित भएको छ । तिनका कार्यकर्ताले एमसीसी राष्ट्रघाती थिएन भने किन ढुंगा हान्न लगाइयो भनेर प्रश्न गर्नुपर्छ ।’ 

उनले दाहाल ‘पाइड पाइपर अफ ह्याम्लिन’ जस्तो बाँसुरी बजाउँदै मुुसालाई आफू पछि लगाएर समुद्रमा खसाउने व्यक्तिजस्तो भएको भन्दै उनका पछि मुसा जस्तो भएर नलाग्न र विवेक प्रयोग गर्न माओवादी कार्यकर्तालाई आग्रह समेत गरे ।

उनले एमाले कसैको दबाब, प्रलोभन र धम्कीमा परेर निर्णय नगर्ने भन्दै लोकतन्त्र, संविधान र विधिको शासनको पक्षमा जिम्मेवार निर्णय गर्ने र आफूले गरेको निर्णयमा अडिएर बस्ने पार्टी भएको पनि बताए । 

त्यसपछि उनी सभामुखतिर खनिए । सभामुखले दलको भरियाजस्तो काम गरेको र संसदीय मर्यादाको खिलापमा उत्रिएको उनको आरोप थियो । माओवादीले निष्काशन गरेका सांसदको हकमा एउटा व्यवहार अनि एमालेले अनुशासनको कारबाही गरेका सांसदको हकमा अर्को व्यवहार नहुने भन्दै ओलीले सभामुखको गैर–संवैधानिक हर्कतको विरुद्धमा निरन्तर लड्ने बताए । 

उनले एमालेले परिपक्व स्थिति हेरेर सभामुखविरुद्ध राजनीतिक ‘एक्सन’ लिने अर्थात् महाअभियोग प्रस्ताव ल्याउने बताए । ‘महाअभियोग प्रस्ताव नल्याउने एउटामात्र अवस्था हुन्छ, त्यसका लागि सभामुखले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘राजीनामा दिएर स–सम्मान बिदा हुँदा राम्रो हुन्छ । सदनले बेइज्जीपूर्वक निकालेको भन्ने किन पार्नु भन्ने ठान्ने हो भने ।’ 

ओलीले सभामुखमाथि थप व्याख्यात्मक टिप्पणी गरे । ‘वक्ता र सभामुखकोबीचमा कोही उभियो भने पनि अवरोध मानिन्छ । त्यसमाथि प्रमुख दलका सांसदहरू वेल घेरिरहेका छन् तर पनि सभामुख सभा सञ्चालन गरिरहनुभएको छ । यो संसदीय मर्यादाको खिलाफमा भयो,’ ओलीले थपे, ‘संसदको मर्यादा हुन्छ, त्यहाँ मर्यादापालकले सभामुखलाई पीठ फर्काएर बस्दैनन्, यहाँ त एमालेका सांसदलाई छेक्न मर्यादापालक खटाउनुपरेको छ । तीनको पीठ पछाडि बसेर सभामुख सभा सञ्चालन गर्नेमा गर्व गर्नुहुन्छ ।’ 

उनले सभामुखले सरकारको विजनेस रोक्नेमात्र होइन, मृत (निष्कृय) प्रस्ताव अगाडि बढाउन दिएर अर्को गल्ती गरेको बताए । ‘संसदको एउटा अधिवेशनमा दर्ता गरेको वा पेस गरेको प्रस्तावमाथि त्यही अधिवेशनमा कुनै कारबाही नभए निष्कृय हुन्छ,’ ओलीले भने, ‘यहाँ सरकारले पनि झुक्याएर ३२ महिनाअघि दर्ता भएको एमसीसी सम्झौताको प्रस्ताव लिएर आयो, सभामुखले त्यसैलाई अघि बढाउन दिए । यो निष्कृय भैसकेको थियो ।’ सरकारको गल्तीलाई सभामुखले आँखा चिम्लेको ओलीको आरोप थियो । 

साथै सभामुखले सरकारको प्रस्तावमा सैद्धान्तिक छलफलमा समेत मत विभाजन गराएर सरकारको प्रस्तावमाथि छलफल नै हुननसक्ने अवस्था ल्याउन खोजेर सरकारले सदन स्थगन समेत गर्नुपरेको बताए । ‘त्यस्तो भयो भने भोलि सरकारले ल्याएका कुनै विधेयकमा छलफल नै नहुने स्थिति आउँछ, गलत नजिर बस्छ,’ ओलीले भने, ‘दलीय स्वार्थमा लागेर एकपछि अर्को गैर–संवैधानिक हर्कत गर्ने व्यक्तिले सभामुख बन्ने योग्यता राख्दैन ।’ 

ओलीले यो लडाइँ लोकतन्त्र मास्न खोज्ने र लोकतन्त्र, संविधान तथा संसदीय मर्यादाको पक्षमा रहेका शक्तिबीचको लडाइँ भएको बताए । यसमा नेपाली कांग्रेसले पनि बद्मासी गरेको भन्दै ओलीले गुनासो गरे । ‘मेरो समयमा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संसदबाट अनुमोदन गर्दा सिंगो संसद्लाई एक बनाएको थिएँ,’ ओलीले थपे, ‘अहिले एमसीसी अनुमोदन गर्दा राष्ट्रिय मुद्दामा एमालेले सदनमा आफ्नो कुरा राख्छु भन्दाभन्दै त्यो वातावरण बनाउन सरकारले ध्यान दिएन ।’ 

ओलीले माधव नेपालको दल निर्वाचनबाट सखाप हुने उल्लेख गरे । ‘अहिले उहाँहरू आफ्नो पद जाने भयो, सभामुखको पद जाने भयो भनेर डराएर एमसीसी सम्झौता अनुमोदन गर्न तयार हुनुभयो, वास्तविकाता त्यही हो’ उनले भने, ‘आफ्नै दलको सरकार गिराउने, पार्टी टुक्र्याउने उहाँहरू राजनीतिक अपराधी हो ।’ 
‘म उहाँको थर भन्दिनँ, उहाँलाई कत्रो डर छ । फेरि ओली सरकारमा आए भने नेपाल सखाप हुन्छ भन्नुहुन्छ,’ ओलीले व्यंग्य गर्दै भने, ‘उहाँहरू काम गर्ने, देश विकास गर्ने भन्दा पनि यस्तै अनुचित लाभका लागि प्रयास गर्ने, आफूलाई के फाइदा हुन्छ भनेर हेर्ने, मान पुग्यो कि पुगेन । त्यत्तिमै उहाँहरूको ध्यान छ ।’ 

ओलीले एमाले गड्गडाहटयुक्त खोलाजस्तो भएकाले त्यसमा तर्न (निर्वाचनबाट) दाहाल, नेपालहरूलाई गठबन्धनको सहारा चाहिएको बताए । ‘ठूलो खोलामा पस्दा हात समाएर पस्ने, अनि केहीगरी बगाइहाल्यो भने पनि किनाराबाट हात दिनेले तानेर ल्याउने चलन हुन्छ नि ! तैपनि एकजना (राष्ट्रिय जनमोर्चा)ले हात छोडीसक्नुभयो क्यारे !’ ओलीले भने, ‘अब चार ओटा हात बाँकी छन्, हात समाएर तर्न खोज्दै हुनुहुन्छ । तर खोलामा बग्नुहुन्छ ।’

दाहाल 
– घिनलाग्दा स्वार्थले भरिएको
– गैरजिम्मेवार 
– अवसरवादी छेपारेपन 

नेपाल 
– राजनीतिक अपराधी 
– मौकापरस्त र अवसरवादी 
– अहंकारी 

सभामुख अग्निप्रसाद सापकोटा
– दलको भरिया
– संवैधानिक दायित्वबाट च्यूत 
– संसदीय मर्यादामाथि घात 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x