दल

डा. बाबुराम भट्टराई भन्छन्, ‘नयाँ शीतयुद्धका मुख्य प्रतिस्पर्धी हाम्रै छिमेकमा छन्, सचेत बन्नुपर्छ’

इकागज |
फागुन २८, २०७८ १६:२४ बजे

काठमाडौँ– जनता समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले समकालीन विश्वमा भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिएको छ । 

सन् १९९० को भन्दा सन् २०१० पछिको विश्व परिस्थितिमा ठूलो परिवर्तन भएको भन्दै जसपाको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा २०४६ ताको राजनीतिक परिवर्तनका बेला सोभियत संघको पतन र अमेरिका एक मात्र विश्व शक्ति भएकाले एक ध्रुवीय (युनिपोलार) विश्व रहेको तर चीनको उदय र रुसको पुनरोदयसँग विश्व बहुध्रुवीय (मल्टिपाेलार ) बनेको चर्चा गरेका छन् । 


नेपालका दुई छिमेकी चीन र भारत दुवै उदयमान विश्व शक्ति बन्ने क्रममा रहेको र अमेरिका विश्व अर्थतन्त्रमा प्रभाव राख्ने, ठूलो सैन्य बजेट भएको मुलुक भएकाले यी तीन मुलुकसँगको सम्बन्ध नेपालका लागि महत्वपूर्ण भएको भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । 

चीनमा राष्ट्रपति सी चिनफिङको उदयपछि चीनले आफ्नो परराष्ट्र नीतिमा पनि परिवर्तन गरेको छ । चिनियाँ परराष्ट्र नीति ‘थ्री सी’ अर्थात् (कोअपरेट, कम्पिट र कन्फ्रन्ट) मा आधारित छ । आधारभूत रूपमा सहयोगी भावनाबाट चल्ने, प्रतिस्पर्धा गर्नेसँग प्रतिस्पर्धा पनि गर्ने र आवश्यक परेमा मुकाबला पनि गर्ने प्रष्ट धारणा चीनले अघि सारेको छ । 

डा. भट्टराईको प्रतिवेदनमा दोस्रो महाशक्तिका रुपमा चीनको उदय यसबीचको अर्को महत्वपूर्ण परिघटना रहेको र चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बनेको र निकट भविष्यमै पहिलो ठूलो आर्थिक शक्ति हुने सम्भावना रहेको उल्लेख गरेका छन् ।

‘सैन्य संख्याको दृष्टिले चीनसँग पहिलो ठूलो सैन्य संगठन छ । चीनले सैन्य बजेटमा निरन्तर वृद्धि गर्दैछ,’ प्रतिवेदनमा भनिएको छ, ‘युरोपका पूराना भिटो राष्ट्र रुस, बेलायत र फ्रान्सको शक्ति हिजोको तुलनामा केही ह्रास भएको भए तापनि ती अझै शक्ति राष्ट्र नै हुन ।’ 

विघटित सोभियत संघको उत्तराधिकार राज्यका रुपमा रुसले आफूलाई पुनस्र्थापित गर्न खोजिरहेको र रुससँग तेस्रो ठूलो सैन्य बजेट, पाँचौ ठूलो सैन्य संख्या, मध्य तथा पूर्वी युरोप र पूर्व सोभियत गणराज्यहरुमा प्रभाव रहेको प्रतिवेदनमा चर्चित छ । 

प्रतिवेदनमा रुसले क्रिमिया र युक्रेन युद्धमार्फत् आफ्नो शक्तिलाई पुनर्स्थापित गर्ने अभियानमा लागेको भट्टराईले चर्चा गरेका छन् । 

‘त्यस्तै, संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा भिटो दाबी गर्ने जर्मनी, जापान, ब्राजिल र भारत छन् । यी राष्ट्रहरुले आफूलाई नयाँ शक्ति राष्ट्रका रुपमा विकास गर्न चाहेको सहजै बुझिन्छ,’ उनले भनेका छन्, ‘ब्रिक्सको संस्थापक राष्ट्रका रुपमा दक्षिण अफ्रिकाले भूमिका गरेबाट दक्षिण अफ्रिका अफ्रिकी क्षेत्रको शक्ति राष्ट्रका रुपमा उदित हुन चाहेको बुझिन्छ । यो बहुध्रुबीय नयाँ विश्वको संक्षिप्त चित्र हो ।’

भट्टराईले समकालीन विश्वका यी शक्ति राष्ट्रमध्ये भारत, चीन र अमेरिका नेपालका लागि असाध्यै महत्वपूर्ण रहेको र यी देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । ‘चीनले सन् २०१४ पछि रोड एण्ड बेल्ट इनिसिएटिभ (बिआरआई) जस्तो विशालकाय विश्व परियोजना अघि बढाएको छ । नेपालले यसमा हस्ताक्षर गरिसकेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘चीन हाम्रा लागि टाढाको शक्ति राष्ट्र मात्र हैन, नजिकको छिमेकी राष्ट्र हो । चीनसँगहाम्रो लामो सीमा–सम्बन्ध छ ।’

त्यस्तै, छिमेकी राष्ट्र भारतलाई विश्वले नै उदयमान शक्ति राष्ट्र स्वीकार गर्न थालिसकेको परिस्थितिमा इन्डो–प्यासिफिक रणनीति र क्वाड (अमेरिका, जापान, अष्ट्रेलिया र भारतको चौकोण) मा भारतको संलग्नताले चीनसंगको उसको प्रतिस्पर्धी मुडलाई सहजै अनुमान गर्न सकिने भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन् । 
भारतसँग विश्वकै तेस्रो ठूलो सैन्य संख्या छ ।

‘दोस्रो विश्व युद्धको अन्त्यदेखि सोभियत संघको विघटनसम्मको समय अवधिलाई ‘शीत युद्ध’ (कोल्ड वार ) भनिन्थ्यो । त्यसका अन्य धेरै भूराजनीति, आर्थिक र सामरिक पक्ष थिए ।तर, मुख्य पाटो वैचारिक थियो,’ भट्टराईको राजनीतिक परिवर्तनमा भनिएको छ, ‘अमेरिकाले पुँजीवादी वा लोकतान्त्रिक विश्वको नेतृत्व गर्दथ्यो । सोभियत संघले साम्यवादी विश्वको नेतृत्व गर्दथ्यो । सोभियत संघ र पूर्वी युरोपको पतन भएपश्चात साम्यवादी विश्व एक भिन्नै वैचारिक ध्रुब कायम थिएन । शीत युद्धको अन्त्य भएको ठानिएको थियो ।’

भट्टराईले विश्वमा आज फेरि त्यही दृश्य दोहोरिएको स्पष्टसँग प्रतिवेदनमा राखेका छन् । ‘अमेरिका र चीन पहिलो र दोस्रो शक्ति राष्ट्रका रुपमा उदित भएसंगै ‘नयाँ शीत युद्ध’ शुुरुवात भएको आकँलन गरिएको छ,’ उनले भनेका छन्, ‘शक्ति राष्ट्रहरुको ध्रुवीकरणमा चीन–रुस एकातिर र अमेरिका–भारतलगायत अर्कोतिर भएर विश्वमा फेरि आर्थिक, राजनीतिक र सामरिक होडबाजी चल्ने स्थिति उत्पन्न भएको छ ।’ 

यस्तो विश्व परिस्थिति नेपालको जस्तो जटिल भूराजनीति भएको देशका लागि निक्कै संवेदनशील र विशिष्ट भएकाले नेपाल सतर्क हुनुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘पहिलो शीत युद्धका केन्द्रहरु नेपालबाट धेरै टाढा थिए तथापि नेपाललाई कुनै न कुनै हिसाबले प्रभावित गरेका थिए,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नयाँ शीतयुद्धको केन्द्रहरुमध्ये एक हामी आफै हुन सक्ने देखिएका छौं । अमेरिका–चीन बीचको वैश्विक प्रतिस्पर्धा र व्यापार–युद्ध, चीन–भारत बीचको परम्परागत तनाव र प्रतिस्पर्धाले हाम्रो भूराजनीतिलाई अत्यन्तै विशिष्ट बनाउँछ ।’

उनले यो परिस्थितिमा वैकल्पिक राजनीतिको पैरवी गर्ने उनको पार्टी समयमै चनाखो, गम्भीर र जिम्मेवार बन्नुपर्ने भन्दै विवेकपूर्ण गतिशील सन्तुलनलाई भूराजनीतिक जटिलता बुझ्ने र हल गर्ने मुख्य नीति बनाउनु पर्ने उल्लेख गरेका छन् । विश्वमा देखिएको यो ध्रुवीकरणमा जनता समाजवादी कुनै एक पक्षको वैचारिक पक्षधरता नलिने भट्टराईले उल्लेख गरेका छन् । 

चीनबारे 

चीन हाम्रा लागि छिमेकी राज्यका रुपमा सर्वथा महत्वपूर्ण छ । राज्य–राज्य सम्बन्धका दृष्टिकोणले चीनका सरोकार र संवेदनशीलतालाई हामीले कहिल्यै बिर्सन मिल्दैन । यथोचित सहकार्य र सम्बोधन गर्नु पर्दछ । हामीले सधैं एक चीन नीतिको पक्षपोषण गरेका छौं र नेपालको भूभाग उसका विरुद्ध प्रयोग हुन नदिने सुनिश्चितता गरेका छौं । 

अमेरिकाबारे 

भौगोलिक हिसावले टाढा भए पनि अमेरिकासँग हाम्रो गत सत्तरी वर्षदेखि निकट सम्बन्ध रहिआएको छ । राज्य–राज्यका वीचमा उसँग अहिलेसम्म कुनै ठूलो समस्या छैन । आर्थिक सहयोग र व्यापारिक साझेदारीको हिसावले अमेरिका नेपालको ठूला साझेदार देश मध्येमा पर्दछ । ​

भारतबारे 

भारत झण्डै अठार सय किलोमिटर खुला सीमानाले जोडिएको नेपालको ऐतिहासिक छिमेकी हो । गंगाको मैदानदेखि हिमालयसम्म भर्‍याङ झै ठडिएको नेपाल भौगोलिक ढंगले दक्षिणतिर ढल्केको छ । त्यसैले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक सबै हिसावले नेपालको सबभन्दा वढी सम्बन्ध भारतसँगै नै हुने गरेको छ । ऐतिहासिक ढंगले विकसित भएको असमान अर्थ–राजनीतिक सम्बन्धको कारणले भारतसँग नेपालका सीमा लगायत कतिपय द्विपक्षीय समस्याहरु पनि छन् । जोसँग वढी सम्बन्ध हुन्छ, उसँग बढी समस्या हुनु प्राकृतिक नियम पनि हो । अतः राज्य–राज्य र जनता–जनताको बीचको सम्वन्धमा सवभन्दा बढी महत्व हामीले भारतसँगको सम्वन्धलाई नै दिनुपर्ने अवस्था छ ।  

 



Author

थप समाचार
ad
x