दल

त्रिपाठी नेतृत्वकाे दलले स्थानीय तहकाे भ्रष्टाचार र बेरुजूलाई चुनावी मुद्दा बनाउने

इकागज |
चैत १९, २०७८ शनिबार १७:३४ बजे

काठमाडौँ– जनता प्रगतिशील पार्टीले स्थानीय तह निर्वाचनमा दलीय आधारमा गरिने प्रतिस्पर्धा गलत भएको बताएको छ । दलीय आधारमा हुने चुनावले स्थानीय तहमा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुने सम्भावना न्यून हुने उक्त दलको निष्कर्ष छ । 

अध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा आज बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्धता रहेको भन्दै स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय लिएकाे छ । उसले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिहरूलाई निर्वाचनमा उठाउने र विजयी गराउन भरमग्दूर प्रयास गर्ने बताएको छ । 


निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई समर्थन गर्दै उक्त आचारसंहिता कार्यान्वयनमा आयोगको सक्रियताको अपेक्षा समेत गरेको छ । 

‘स्थानीय तहमा निरन्तर बढ्दो बेरुजू र अनियमितता आगामी निर्वाचनको मूल चुनावी एजेन्डा बनाउँदै जनता प्रगतिशील पार्टीले प्रदेश लेखा समिति सदस्यको संयोजकत्वमा जिल्ला समन्वय प्रमुख र महालेखा परीक्षकको प्रतिनिधि सम्मिलित समिति निर्माण गर्न समेत माग गरेको छ । 

स्थानीय तहमा देखिएको भ्रष्टाचार, अनियमितता र पक्षपात क्रियाकलापले स्थानीय तहलाई प्राप्त संवैधानिक दायित्व र अधिकारलाई विकृत बनाएको भन्दै जनता प्रगतिशील पार्टीले माध्यमिक तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य र कृषिको उन्नतिमा नकारात्मक प्रभाव पारेको उल्लेख गरेको छ । 

प्रमुख राजनीतिक दलका नेताले दुई दलीय प्रणालीको वकालत गरेको भन्दै उक्त दलले ती अभिव्यक्तिमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र विविधितायुक्त नेपाली समाजमा विविधताको सही प्रतिनिधित्व दुई दलीय प्रणालीबाट हुन नसक्ने बताएको छ । ‘यस्तो अभिव्यक्ति संवैधानिक मान्यतालाई चुनौती दिने, असंवैधानिक छ र यसले नेपाली समाजको सही विश्लेषण गर्न सकेको छैन,’ उक्त दलको केन्द्रीय समिति बैठकको निष्कर्ष छ, ‘यी अभिव्यक्ति दम्भी, असंवैधानिक, अवैज्ञानिक र प्रतिगामी छन् । यस्तो सतही विचार र अभिव्यक्तिको घोर भर्त्सना गर्दछौं ।’

पार्टीका महासचिव भरतकुमार थापाद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी अध्यादेश,  निजामती सेवा अध्यादेश जारी गर्न र कैलालीका प्रतिनिधीसभा सदस्य रेशम चौधरीको रिहाई गर्न माग गरिएको छ । केन्द्रीय समिति बैठकले नागरिक उन्मुक्ति पार्टीसँग सहकार्यको वातावरण निर्माण गर्ने जिम्मा अध्यक्ष त्रिपाठीलाई दिने निर्णय गरेको बताइएको छ । 

साथै, उक्त दलले जग्गाको खण्डीकरण रोक्ने कार्य प्रभावकारी बनाउन माग गरेको छ । बैठकले जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य रामविलास दासलाई सहमहासचिव र केन्द्रीय सदस्यमा श्रीमननारायण मिश्र र राम निवास यादवलाई नियुक्त गर्ने निर्णय गर्नुका साथै पार्टीको संगठन, निर्वाचन, विदेश, अर्थ र युवा तथा विद्यार्थी विभाग गठन गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीले बनाउने उम्मेद्वारको समन्वय गर्ने जिम्मा महासचिव ईश्वर दयाल मिश्रलाई दिनुका साथै उक्त कार्यको संयोजन गर्न हरेक प्रदेशमा जिम्मेवारी दिइएको उल्लेख छ । 


Author

थप समाचार
x