दल

‘जीतपुरसिमरालाई भ्रष्टाचारमुक्त उपमहानगर बनाउँछु’

इकागज |
बैशाख २२, २०७९ बिहीबार १३:२३ बजे

काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर पदमा कांग्रेसले मेघा शाहीलाई उम्मेदवार बनाएको छ । उपमेयरको दौडमा रहेकी विद्यार्थी नेत्री शाहीले आफ्नो अजेन्डामा सुशासनलाई बढी जोड दिएकी छिन् ।  भ्रष्टाचार मुक्त उपमहानगरपालिका भन्ने नारासहित उनी चुनावी प्रचारप्रसार गरिरहेकी छिन् । 
गत कार्यकालमा निर्वाचित जनप्रतिनिधिले स्थानीय तहलाई भ्रष्टचार मार्फत चिनाएपछि आफ्नो पहिलो प्राथमिकतामा ‘भ्रष्टचारमुक्त उपमहानगरपालिका’ बनाउने अठोट लिएको उनी बताउँछिन् ।

‘भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउने योजना अठोट छ,’ उनी भन्छिन्, ‘उपमहानगरपालिका सुधार्नु छ भने सुशासन बढाउनु पर्ने छ ।  उद्योग, पर्सा राष्ट्रिय निकुञ्ज सहितको उपमहानगरपालिकामा सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेकी छु ।’ स्थानीय तहबाट दिइने सेवालाई पनि सरल र सहज बनाउने उनको भनाइ छ । 


शाही विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा रहेर काम गर्दै राजनीतिमा उदाएकी हुन् । ‘स्थानीय तहमा युवा’ भन्ने नाराका साथ उपमेयर पदमा उम्मेदवारी दिएकी मेघा विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी थिइन् । मेघा नेविसंघको ठाकुरराम बहुमुखी क्याम्पस इकाइ अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् ।

गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका अजेन्डा बोकेर आन्दोलनमा उत्रेकी मेघा जीतपुरसिमरालाई समृद्ध बनाउने दाउमा छिन् । संविधानले उपमेयरलाई दिएका अधिकारहरुको प्रयोग गर्दै जीतपुरसिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् । उनी पनि गठबन्धनकै तर्फबाट तर्फबाट उपमेयर पदको प्रत्यासी हुन् ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रयोग गरेर उममहानगरमा सुशासन कायम गर्ने उनको भनाइ छ । ‘सुशासनको लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ,’ उनले भनिन्, ‘पुराना बिग्रिएका कामहरु सुधार्दै नयाँ कामको सुरुवात गर्नु पर्ने छ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो ।’

औद्योगिक हिसाबले पनि निकै सबल रहेको जीतपुरसिमरा श्रमिकहरुको नगर भएकाले श्रमिक अस्पताल बनाउने पनि उनको योजना छ । ‘हाम्रो अधिकांस जनसंख्या श्रममा खटिने भएकाले उनीहरुको शिक्षा र स्वास्थ्ययमा पहुँचलाई सुलभ बनाउने योजना छ,’ उनले भनिन्, ‘हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं । हामीलाई आफ्नो राजनीतिसँगै आफ्नो ठाउँको पनि विकास गर्नु छ । हामी फेरी जनता कहाँ पुग्दा आफ्नो अजेन्डा पुरा गरेर पुग्न चाहन्छौ । त्यसैले पनि हामीले पुरा गर्न सक्ने योजनाहरुलाई अगाडी ल्याएका छौँ ।’

यस्तै सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको उनले औल्याएकी छिन् । मेघाले विद्यार्थीका लागि प्राविधिक शिक्षामा जोड दिने बताइन् । भन्छिन्, ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडी बढाउनु पर्छ ।’ 

शिक्षा र स्वाथ्यसँगै उनले आन्तरिक पर्यटन प्रवद्धनको समेत योजना बनाएकी छिन् । पर्सा राष्ट्रिय निकुञ्ज व्यवस्थापन गरेर पर्यटक अझै बनाउन सकिने उनले बताइन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यस्थित बनाउन सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छ,’ उनी भन्छिन्, ‘हाम्रो काम गर्ने इच्छा शक्तिले योजनालाई मुर्तरुप दिन्छ ।’ उपमहानगरलाई प्राकृतिक हिसाबले स्वच्छ, हरियाली र सुन्दर बनाउने गरी विकासको खाका ल्याउने योजना उनको छ ।

मेघा कानुनकै विद्यार्थी समेत रहेकोले उनलाई न्यायिक समितमा रहेर काम गर्न समेत बताउँछिन् । मधेसका महिलाहरूले भोग्ने गरेका समस्याहरूबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने उनको योजना छ ।


Author

थप समाचार
x