दल

स्थानीय तह निर्वाचन

हेटौँडामा त्रिपक्षीय भिडन्त: सबैका आ-आफ्नै दाबी, कसले मार्ला बाजी ?

सरिता दाहाल |
बैशाख २६, २०७९ सोमबार ९:१७ बजे

मकवानपुर - बागमती प्रदेशको एकै मात्र उपमहानगरपालिका हेटौँडामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू चुनावी प्रतिबद्धता बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनाव आउन केही दिन मात्र बाँकी रहदा उनीहरूको दौडधुप निकै बढेको छ ।

एमालेले आफ्नो गढ दाबी गर्दै आएको हेटौंडामा विरासत धान्न चुनौती छ । सत्तारूढ गठबन्धनलाई पनि जित्नैपर्ने दबाब छ । दुवै पक्षका आ-आफ्नै दाबी छन् । दुवै पक्ष आफूले जित्ने दाबी गर्दै आएको छन् । 


हेटौंडा उपमहानगरमा एमालेले मेयरका रूपमा अनन्त पौडेललाई अघि सारेको छ । उनी संविधान सभाका पूर्व सदस्य समेत हुन् । विगतमा गरेका कामका आधारमा आफूहरूलाई जित्न सहज हुने एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् ।

चुनावको मुखैमा एमाले प्रवेश गरेका नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलको साथलाई एमालेले जित्ने आधारका रूपमा लिएको छ । उनले चुनावी कार्यक्रममा साथ दिइरहेका छन् । 

पौडेल भन्छन्, ‘हेटौंडामा हामीले गरेको कामले नै एमालेको चर्चा गर्छ, हामीले देखावटी र बनावटी एजेण्डा फिँजाउनु नै पर्दैन ।’ २०४९ सालमा पहिलो पटक स्थानीय निकायको निर्वाचन हुँदा डोरमणि पौडेल एमालेबाट नगरको मेयर बनेका थिए । ‘हामीसँग चुनाव जित्न धेरै आधार छ,’ पौडेलले भने, ‘यहाँका जनताले एमालेका तीनै वटा सरकारले गरेका काम देखेका छन्, त्यसका आधारमा हामीलाई सहजै चुनाव जिताउनेछन् ।' 

हेटौंडाको मेयरका अर्का उम्मेदवार हुन् मिनाकुमारी लामा । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाटै उपमेयर जितेकी लामा अहिले नेकपा एकीकृत समाजवादीमा छिन् । उनी गठबन्धनको तर्फबाट मेयरको प्रत्यासी हुन् । हेटौंडाको मेयर पद जित्नको लागि एमालेकै जस्तो दाबी उनको पनि छ ।

चुनावी प्रचारमा लागेकी मिना र अनन्त दुवैले आफूहरूलाई भोट हाल्नुपर्ने कारणसहितको प्रतिबद्धता पत्र बाँड्दै मतदान गर्न आग्रह गर्दै आएका छन् ।  ‘एकीकृत समाजवादीलाई काम गरेर देखाउने अवसर जनताले दिने छन्, प्रतिगमनविरुद्ध हामी जनताको रोजाइको पार्टी हौं,’ लामाले भनिन्, ‘हेटौंडाको हकमा भन्नुपर्दा मेरो विगत ५ वर्षको कार्य दक्षता र क्षमता नै विश्वासको आधार हो ।’

आफूलाई गठबन्धनको सबै दलबाट सहयोग प्राप्त हुनेमा आफू ढुक्क रहेको लामाले बताइन् । पार्टीभित्र जे–जे विवाद भए पनि चुनावी भूमिका कार्यकर्ताले आन्तरिक तिक्तता भूलेर इमान्दारीता प्रकट गर्नेमा लामा ढुक्क छिन् । 

हेटौंडा उपमहानगरपालिकाको मेयरका अर्का उम्मेदवार हुन् दीपकबहादुर सिंह । राष्ट्रिय प्रजातन्त्र पार्टीका उनले अघिल्लो निर्वाचनमा पनि मेयर पदमा नै उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस, माओवादी, नेकपा एमालेलगायतका ठूला राजनीतिक दलहरू भ्रष्टाचार, आफन्तवादमा लिप्त भएकोले जनता ती पार्टीदेखि रुष्ट भएकाले आफूले चुनाव जित्ने दाबी गरेका हुन् ।

सिंहले हेटौंडा उपमहानगरको मेयरमा एमालेले पटक पटक जिते पनि विकास गर्न नसकेको र कांग्रेसलाई पनि भरोसा नगर्ने हुँदा आफूले चुनाव जित्ने दाबी गरे । ‘म भ्रष्टाचार र सुशासनको पक्षमा छु, उपमहानगरको वेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ,’ उनले भने ।

२०७४ को निर्वाचनमा हेटौंडाको मेयर पदमा राप्रपाका उम्मेदवार मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत ल्याएर तेस्रो स्थानमा थिए । यसपटक राप्रपाले सिंहलाई उम्मेदवारी दिएको हो । अघिल्लो निर्वाचको प्रत्यासी अधिकारी आइतबार मात्रै पार्टी परित्याग गरी समाजवादी प्रवेश गरेका छन् । मकवानपुरमा राजनीतिक र सामाजिक जीवन बिताएका सिंह पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।  

२०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँ ८३ हजार ५ सय ९७ रहेका मतदाता थिए भने अहिले १ लाख ४ हजार ५ सय १३ पुगेका छन् । हेटौंडामा २०४९, २०५४ र २०७४ गरी तीनै पटक नेकपा एमाले विजयी भएको थियो ।

२०७४ मा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला नेपाली कांग्रेस एमालेसँग जम्मा ६१५ मतान्तरले मेयरमा पराजित थियो । एमालेले मेयर–उपमेयरसहित १२ वडा, कांग्रेसले ५ वडा र माओवादी केन्द्रले २ वडामा जित हासिल गरेको थियो भने राप्रपाले ६५ सय मत ल्याएको थियो ।

अहिले फेरि सिंह र पौडेल दोस्रो पटक एकै पदमा भिड्दै छन्  । २०७० को संविधानसभा निर्वाचनमा उनी मकवानपुर क्षेत्र नं ३ बाट एमाले उम्मेदवार पौडेलसँग पराजित भएका थिए । त्यतिबेला पौडेल १४,२५६ मतसहित विजयी बन्दा सिंहले ११,४६१ मत प्राप्त गरेका थिए । 

सिंहले आफूले मेयर भएपछि पाउने तलब, भत्तामा दुई गुना थपेर हरेक वडामा शिक्षा र स्वास्थ्यमा लगानी गर्ने बताउँदै आएका छन् । घरघरमा वृद्धभत्ता पुर्‍याउने, कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, मेयर भएपछि आफूले पाउने सेवा सुविधा विपन्न, गरिबको स्वास्थ्य सेवामा खर्चिने प्रतिबद्धता सिंहले गरेका छन् ।

अन्तर्वार्ता
अनन्त पौडेल, एमालेबाट हेटौंडा उपमहानगरमा मेयरको प्रत्यासी

चुनावी अभियान कसरी चलाइरहनु भएको छ ?
तीब्र गतिमा चलिरहेको छ । उपमहानगरपालिकासँगै १९ वटा वडाहरूमा कम्तिमा १ वटा चुनाव प्रचार–प्रसार कार्यालय खोलेका छौँ । धेरै जसो वडामा १ भन्दा बढी छन् । केही वडामा टोल टोलमै सम्पर्क तथा प्रचार–प्रसार कार्यालयहरू छन् । तिनै कार्यालहरूको समन्वयमा १६ बैशाखबाट मतदाताको घरघरमा पुगेर मत माग्न काम सुरु गरेका छौँ । अहिले हामी व्यापक प्रचार–प्रसार तथा मतदाता शिक्षाको लागि हिडेँका छौँ । समय थोरै मात्रै बाँकी भएको कारण घर दैलो भ्याइएन भने पनि प्रत्येक टोल र वडामा पुगेर सामूहिक भेटको कार्यक्रम गर्ने छौँ । 

तपाईको एजेण्डा के के छन् ? किन भोट दिने तपाईलाई ?
मेरो एजेण्डा जनताका एजेण्डा हुन । जनताको दु:खलाई सुखमा परिणत गर्न, समस्याको सबै मिलेर सम्बोधन गर्न र स्थानीय जनताको अभिभावक स्थानीय स्तरमा नै छ भन्ने आभास दिलाउन मेरो उम्मेदवारी हो । मैले अर्थात नेकपा एमालेले ५ वर्ष काम गर्नको लागि केही एजेण्डाहरू बनाएको छ ।
यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, समाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासमा एमालेको उम्मेदवारी हो । विगत ४९ सालदेखि नेकपा एमालेले हेटौँडामा विजय हासिल गर्दै आइरहेको छ । अघिल्ला समयमा जनताको सामु हात हालिएका योजना पूरा गर्नको लागि मेरो उम्मेदवारी हो । विषेशगरी हेटौँडा प्रदेशको राजधानी पनि भएको छ । अब यसको स्तरोन्नतिका लागि काम गर्नु छ ।
हेटौँडा उपमहानगरपालिका जितिरहँदा हेटौँडाका जनताले स्वास्थ्य, शिक्षा र भौतिक विकासमा पछि परेका वडाहरूको संरचना निर्माणलगायत विकास गर्ने योजना छ । हेटौँडाको केही वडाहरू यस्ता छन्, जहाँ जान अहिले पनि अर्को पालिकाको बाटो भएर मात्रै पुगिन्छ । यस्ता ठाउँमा साँच्चै सफा, सुन्दर र विकासले कायापलट गरेको उपमहानगरपालिका हो भन्ने बनाउने उद्देश्य छ । 

तपाई त संविधानसभा सदस्य भइसकेको मान्छे स्थानीय तहमा किन ओर्लनु भएको ?
हो । हिजो म संविधान सभाको सदस्य थिएँ । संविधान सभाको सदस्य हुँदा संविधानको धारा लेख्दा मैले जनताको घरघरको धारा सम्झिरहेको थिएँ । मैले प्रतिनिधित्व गरेको स्थानको ८ वटा टोलको नाममा पानी जोडिएको छ । टुटेपानी, कालापानी, सिक्पानी, उत्तरपानी .... आदी । त्यहाँ कही पानीको व्यवस्था थिएन, अहिले सबै टोलमा पानी छ ।
म जहाँ पुगे पनि स्थानीय स्तरकै विकासमा चिन्तन गर्ने मान्छे हुँ । अब हेटौंडाको मेयर हुँदा खानेपानी बोर्डबाट पानी खाने उपभोक्तालाई १० हजार लिटर पानी निःशुल्क दिनेछु । आमा बुबा नभएको अति विपन्न बालबालिकालाई हामी उच्च शिक्षाको निशुल्क व्यवस्था गर्नेछौँ । घरघरमा सर्भेक्षण गरेर हामीले विपन्न बालबालिकाको पहिचान हुनेछ, कसैको सिफारिसको आधारमा हैन । पर्यटकीय सर्किट बनाइनेछ । जसमा हेटौंडा–मकवानपुरगढी–भिमफेदी–मनहरी गाउँपालिका जोडिनेछ ।

विकास जहाँ बसेर पनि गर्न सकिन्छ । संविधानसभाको सदस्यमा म संविधान बनाउन गएको थिएँ । त्यो संविधानको स्थानीय तहको कार्यान्वयन गर्ने क्रममा म स्थानीय तहको सरकारमा रहेर जिम्मेवारी निर्वाह गर्न आउन चाहेको हुँ ।

पार्टी भित्रको आन्तरिक विवाद कसरी मिलाउनु हुन्छ ? केही वडाहरूमा बागी उम्मेदवार उठेका थिए नि ?
खासमा पार्टीभित्र विवाद थिएन, गठबन्धनको कारण अन्य ५ दलहरू भित्रभित्रै डढेर सकिएका छन्, हामीमा त्यस्तो छैन । हेटौंडाको ३ वटा वडामा ३ जनाले बागी उम्मेदवारी दर्ता गराएका थिए । उनीहरूलाई पार्टीले कारबाही गरिसकेको छ । एमाले त एउटा नीति र विधि बोकेर हिँडेको पार्टी हो, जथाभावी चल्दैन । हामीले विवाद भन्ने छैन । 

एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीकी मीना लामा गठबन्धनबाट तपाईंको प्रतिस्पर्धी भइरहँदा कस्तो लागेको छ ?
म त उत्साही छु । नेकपा एमालेले नै उहाँलाई जन्माएको हो, प्रशिक्षित गराएको हो । लामो सयम हामी एउटै पार्टीमा संघर्ष गर्‍यौँ । हाम्रो काखैमा हुर्केकी चेली हामीसँगै भिड्न आउनु भनेको पनि हाम्रो लागि उपलब्धि नै हो । यो अर्थमा पनि म उत्साही छु भनेको । हिजो एकै सिद्धान्त बोकेर एकै यात्रामा थियौँ, आज हामीलाई हराउनकै लागि आफ्नो पुरानो घर छाडेर अरुसँग मिल्न गएकाहरूसँग एमाले डराएको छैन । गठबन्धन हुँदैमा जित्ने निश्चित पनि हुँदैन । एमाले लामो समयदेखि हेटौँडाको ठूलो दलको रुपमा स्थापित छ । भोलि पनि रहिरहनेछ । समाजवादीका अध्यक्ष श्रीधर पोखरेल नै पार्टीसँग असन्तुष्टि भएर राजीनामा दिएको अवस्थामा हामी किन डराउनु ? उहाँहरूको अध्यक्ष नै अहिले एमालेमा प्रवेश गरिसक्नु भएको । पोखरेल जी अहिले हामीसँग सँगै दौडधुपमा हुनुहुन्छ । समाजवादीको लामा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिइरहँदा यतिबेला हेटौँडामा एमालेलाई घाटा शून्य बराबर नै छ ।

पाँच वर्षपछिको हेटौंडा कस्तो होला, यदी तपाईले हेटौंडाको मेयर बन्ने मौका पाउनुभयो भयो ?
हेटौंडा अस्पताललाई रिफर सेन्टरको अवस्थाबाट उठाएर एमाले  सरकारले साँच्चैको अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको थियो । फेरि रिफर सेन्टर बनाउन खोजिँदै छ । एमाले सरकारले गरेको काम उल्ट्याउने होडमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर ५ सय शय्याको अस्पताल, जहा ६० जनाभन्दा बढी विशेषज्ञको व्यवस्था हुदै थियो ।

अहिले गठबन्धनको सरकारले प्रतिष्ठानबाट अलग गरेर चितवन लैजाने निर्णय गर्‍यो त्यो पनि अध्यादेश मार्फत । प्रतिष्ठानमा आगामी वर्ष एफबिबिएस पढाइ हुनेवाला थियो, अहिले बीएससी नर्सिङ र प्याथ्यालोजी पढाइ भैरहेको थियो । तर यसलाई जिल्लाबाटै सार्ने षड्यन्त्र भयो । शहरी स्वास्थ्य केन्द्रको विकास हामीले यसैगरी गरेका छौ । नगरमा १९ वटा वडा छन्, २० वटा शहरी स्वास्थ्य केन्द्र छ । यि सबै स्वास्थ्यकर्मी सहितको स्वास्थ्यकेन्द्र छन् । हामीले धेरै कुरा घोषणा पत्रमा समेटेका छौ । सबै त यहाँ बताएर संभव पनि छैन । हेटौंडामा पर्यटकीय क्षेत्रको विस्तार गर्ने, भ्रष्टाचार मुक्त नगर बनाउने, शिक्षा, स्वास्थ्य,खानेपानीमा हामीले धेरै कामहरू गर्न बाँकी छ । विगत ५ वर्ष एमालेले नै नेतृत्व गरेको हेटौंडा नगरमा भौतिक पूर्वाधारमा धेरै प्रगति भएको छ, अब ति प्रगतिहरूलाई संस्थागत गर्दै अन्य समाजिक क्षेत्रमा बढी कामहरू गर्न बाँकी छ ।

मिना लामा, गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयरको प्रत्यासी
चुनावी अभियान कसरी चलाइरहनुभएको छ ?
हामी अहिले एकदम व्यस्त छौ । चुनाव त आइ नै सक्यो । निर्वाचन नजिकिएसँगै हामी पनि गठबन्धनबाट चुनावी प्रचार/प्रसार तथा घरदैलोमा जुटिरहेका छौँ । नगरको केही वडाहरूमा घरदैलो गरेर भ्यायौ केहीमा बाँकी छ । हामी लगातार घरदैलोमै छौँ । नेता कार्यकर्ता तथा मतदाताहरू भेटमा लागेका छौँ । हामी यो निर्वाचन सफल बनाउन चाहान्छौँ । यो निर्वाचन सफल बनाउनका लागि हामी गठबन्धनका दलहरू कटिबद्ध भएका छौँ । वडा वडामा सम्पर्क कार्यालयहरू खोल्नेदेखि घरघर भेट्ने, आफूहरूको प्रतिबद्धता पत्रहरू मतदाताको बिचमा लैजाने र उहाँहरूको सल्लाह सुझावलाई समेट्ने काम पनि भैरहेको छ ।

तपाईको एजेण्डा के के छन् ? कस्तो उपमहानगर बनाउन चाहनुहुन्छ ?
यसअघि विगत पाँच वर्ष उपमेयर भएर कार्यभार सम्हालिरहँदा धेरै आधारहरू बनेका छन् । र, यो संगै मैले हेटौंडा नगरलाई राम्रोसँग चिन्ने मौका पाएको छु । कहाँ के आवश्यक छ, कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बुझ्न पाएको छु । उप–चुप भने झै विगतमा मैले गर्न आवश्यक ठानेको तर गर्न नपाएको कामहरू अब मेयरको भूमिकामा रहेर पुरा गर्ने मेरो संकल्प छ । विगतमा मैले योजनाको प्रमुख भएर बनाएको योजनाहरू जुन अहिले पनि निरन्तर रूपमा चलिरहेका छन्, र अब पनि धेरै कामहरू गर्न पनि बाँकी छ ।  ती योजनाहरू सम्पन्न गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

पार्टी भित्रको आन्तरिक विवाद कसरी मिलाउनु हुन्छ ?
खास पार्टीभित्र आन्तरिक विवाद थिएन भन्छु म । चुनावताका आउने केही असन्तुष्टिहरूलाई आन्तरिक विवाद नै भनिँदैन । सक्षम व्यक्तिले नेतृत्व गर्न खोज्नु विवाद हैन । आन्तरिक कुराहरू आन्तरिक रुपमा मिलिसके, अब हामी चुनाव जित्ने एकै एजेण्डा बोकेर हिडेँका छौँ । कार्यकर्ताहरूको केही असन्तुष्टि र दाबीहरू सम्बोधन हुदै जाने छन् ।

हेटौंडामा ज्येष्ठ नागरिक हस्पिटल बनाइनेछ, हेटौंडा नगरपालिकालाई बाल तथा महिला मैत्री बनाउने छौँ, खेल क्षेत्रमा अब्बल युवा युवतीलाई लक्षित गरी पूर्वाधार विकासको योजना बनाएको छौँ । किसानको पशुपंक्षीमा हुने प्रकोप रोक्न, कृषि प्राविधिकको व्यवस्था गर्ने छौ । घरदैलोको अस्पतालसम्म पनि पुन नसक्ने विस्तारामा सुतिरहेका, थलिएका बिरामीलाई स्वास्थ्य सेवा पुर्याउने योजना छ । नगरपालिकाले गाँस, बास, कपासको व्यवस्था गर्नुपर्ने जनताको लागि हामी मेरो हेटौंडा भनेर ढुक्क हुने वातावरण बनाउने छु । कर्रा करीडरमा पर्यटकीय क्षेत्र बनाउने छु । हेटौंडावासीलाई मेरो लागि स्थानीय सरकार छ भन्नेमा ढुक्क बनाउनेछु ।

सबै महिलालाई निशुल्क सेनिटर प्याड वितरण गरिने छ । शहरी स्वास्थ्य केन्द्रबाट यो वितरण हुनेछ, म उपमेयर हुदा विद्यालय स्तरमा सेनिटरी प्याड वितरण गरेका छौं । उच्च शिक्षामा लगानी हुने छ । महिलालाई प्रविधिसँग, कृषिसँग जोडेर अघि बनाइने छ । प्रत्येक वडामा एक एक सार्वजनिक शौचालय हुनेछ, हाल ५ वटा मात्रै छ । महिलालाई निःशुल्क क्यान्सर टेष्टको व्यवस्था गरिनेछ । यसरी महिला मैत्री र बालमैत्री बनाउने एजेण्डाहरू छन् हामीसँग ।

हेटौंडामा जित्नको लागि तपाईको अवस्था के छ ?
हाम्रो जित हिजै सुनिश्चित थियो । आज पनि छ र भोली पनि पक्का छ । किनकी हामीले जनताको समस्यालाई सम्बोधन गर्ने एजेण्डा ल्याएका छौ, जनताको अपेक्षालाई सम्बोधन गर्ने योजना ल्याएका छौ । जनताले अवश्य पनि हामीमा विश्वास गर्नुहुने छ । हामी पनि जनताको विश्वासलाई कुनै पनि हालतमा सम्बोधन गर्नेछौ । हामी जहाँ जाउँ जन लहर उत्रेको छ, एकदम राम्रो समर्थन पाएका छौ ।

केन्द्रबाट नै पाँच राजनीतिक दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन सफल बनाउन निर्देशन दिइरहँदा अहिले मकवानपुरमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ । अहिले चार दलहरूको गठबन्धन रहेको अवस्थामा मैले भरपूर साथ पाउँछु उहाँहरूबाट । गठबन्धन भनेकै एकले अर्कोलाई साथ दिने भन्ने हो । मलाई चार दलकै नेता तथा कार्यकर्ताले सहयोग पक्कै पनि गर्नुहुनेछ ।

५ वर्षपछिको हेटौंडा कस्तो होला, यदि तपाईले हेटौंडाको मेयर बन्ने मौका पाउनुभयो भयो ?
धेरै कुरा त मैले एजेण्डा मै उल्लेख गरिसकेँ । हाम्रो योजना अनुसारको काम गरेर हेटौंडालाई अझ सुन्दर बनाउने छौँ । हाम्रो हेटौंडा भन्न लायक बनाउने छौँ । हाम्रो एजेण्डाहरू अनुसारको काम गर्दैै जाँदा हेटौंडा आजको रुपबाट धेरै सुन्दर र समृद्धिमा पाइला टेक्ने छ । युवालाई रोजगार सिर्जना हुनेछ, महिला दिदीबहिनीहरू शिक्षित र उद्यमी बन्ने छन् ।

गठबन्धनबाटै मेयरको उम्मेदवार बनिरहँदा पनि गठबन्धनको ठूलो दल कांग्रेसले मेयर पाउनु पर्ने दाबी थियो, तपाईलाई काँग्रेसको भोट आउला त ? 
अहिले यो निर्वाचनसम्बन्धी कांग्रेसमा तिक्तता थियो । किनभने एउटा इतिहास बोकेको पार्टी पनि हो । जुन लामो समयसम्म लोकतन्त्र स्थापना गर्दादेखि नेपालको पहिलो पार्टी जसले धेरै नेताहरू पनि उत्पादन गरेको छ । धेरै नेताहरूले रगत–पसिना बगाएर योग्य व्यक्तिले जीवन नै यसमा बिताइरहनुभएको छ । सक्षम कार्यकर्ताहरू उत्पादन भएको छ । उहाँहरूले यो विषयमा आफ्नो पक्षमा नेतृत्व हुनुपर्छ भन्ने स्वभाविक नै हो । हामीले अहिले जुन गठबन्धनबाट चुनाव लड्दै छौँ । यो तत्कालको निर्णयले भएको पनि होइन । यो विषयमा मैले भन्दा पनि काँग्रेसका नेता ज्यूहरूले नै कार्यकर्ताहरूलाई सम्झाइ बुझाइ गराइरहनु भएको छ। काँग्रेसबाट मलाई घात हुदैन । म ढुक्क छु ।

दीपकबहादुर सिंह मेयरको उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी
तपाईको उम्मेदवारी मेयरमा किन ?
हेटौंडाको अवस्था हिजो के थियो, आज के छ भन्ने सबैले देख्नु भएको छ ? देश संघीयतामा आएपछि, टोल टोलमा सरकार आउँछ र शक्ति विकेन्द्रीकरणले जनताको घरघरमा विकास पुग्छ भन्ने आशा जनताको थियो । आज खै घरघरमा विकास पुगेको ? खै टोल टोलमा विकास पुगेको हिजोको हामीले अपेक्षा गरेको आजै हो त ? आज देखेको विकास मात्रै हो जनताको अपेक्षा ? सरकारमा नेतृत्व गर्न पुगेकाहरूलाई कमाएर कहिल्यै पुगेन, आफ्नालाई जागिरे बनाएर कहिल्यै पुगेन, मन्त्री बनाएर, भागबण्डा गरेर मात्रै बसे यसैको लागि हो ? जनताले दिएको जिम्मेवारी ? ५ वर्षको लागि चुनेको सरकार ४ वर्षमै खोसियो स्वार्थको लागि । विकास भन्दा पनि हो ओहोदामा पुग्ने भन्ने प्रमुख रह्यो । विकास भन्दा पनि को मन्त्री बनाउने भन्नेमा ठूला पार्टीहरू अल्झिरहे । आज यो देशमा हरेक अंगहरू एउटा लकुवा मारिएको अवस्थामा छ । न न्यायपालिका ठिक छ न अरु कुनै ब्रह्मलुटको अवस्था छ । यसलाई निमिट्यान्न पार्न मेरो उम्मेदवारी हो । 

मेयर पदमा तपाईले जित्ने आधार अर्थात एजेण्डा के ?
म धेरै कुरा गर्दिनँ । यत्रो राजधानीको अस्पताल हेर्नुस् । के हेटौंडा अस्पताल सधैँ रिफर सेन्टर मात्रै बन्ने हो ? हेटौंडावासी, प्रदेशको राजधानीवासीहरूले स्वास्थ्यको लागि संधै दुखै भोग्नु पर्ने हो ? हेटौंडाका जनताले यदि मलाई हेटौंडा नगरको मेयरको जिम्मेवारी दिए भने मैले सबैभन्दा पहिले इमान्दारीका साथ म हेटौंडा अस्पताललाई धेरै सुधार गर्ने छु । 

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो, म आफू खान्नँ, खान पनि दिन्नँ । भ्रष्टचार गर्दिनँ र गर्नै दिन्न भन्ने मेरो कसम छ । जब भ्रष्टाचारको अन्त्य हुन्छ विकास त भै हाल्छ नि । म मेयर भएँ भने मैले मासिक तलबभन्दा लिंदै लिन्न, मेरो तलब भक्ता वडाको विकासमा खर्च हुने छ । जनताले तिरेको करबाट भक्ता लिने हैन, बरु जनताको कर घटाउने काम गर्ने छु । 

तपाई आफ्नो प्रतिबद्धतामा कस्ता योजना समेट्नु भएको छ ?
म मेयर भएर आए भने वृद्धवृद्धालाई घरघरमा वृद्धभत्ता पुर्याउनेछु । कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराउने वातावरण बनाउनेछु । मेयर भएपछि मैले पाउने सेवा सुविधा विपन्न, गरिबको स्वास्थ्य सेवामा खर्चिनेछु । मलाई केही लोभ छैन, सबै आफ्नै छ, न सम्पत्ति कमाउनु छ न कसैलाई जागिर लगाउनु छ । नढाँटेर भन्नुपर्दा म त मर्दा घाटसम्म जाने मान्छे बनाउन मेयर बन्न खोजिराख्या छु, कमाउन हैन । म जिल्ला विकास समिति मकवानपुरको पुर्वसभापति समेत हुँ । म हेटौडाको विकासमा अनुभवी व्यक्ती हुँ । हेटौंडाको विकाससँगै जनताका समस्यासँग म जोडिएको छु, चुनावी अभियानमा धेरै अघि बढिसकेको छु ।


Author

थप समाचार
x