राजनीति

स्थानीय तह निर्वाचन : कति स्वतन्त्र उम्मेदवार निर्वाचित भए ?

इकागज |
जेठ १४, २०७९ शनिबार १५:२८ बजे

काठमाडाैँ – स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।


काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौँमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई जना निर्वाचित भएका हुन् । स्वतन्त्र वडाध्यक्ष १३६ जना निर्वाचित भएका  छन्। तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन् । रासस


Author

थप समाचार
x