राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा राप्रपा

इकागज |
साउन ७, २०७९ शनिबार १५:४४ बजे

काठमाडौं– राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै उक्त अवधारणा अघि सारेको हो । 

संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनस्थापना, प्रदेशको खारेजी र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा प्रतिवद्ध रहेको राप्रपाले जनाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्न निष्पक्ष चुनावी सरकार माग गर्दै राप्रपाले वर्तमान व्यवस्था अनुसार कै निर्वाचन प्रणालीमा भाग लिएर आफ्नो मुद्धा स्थापित गर्ने समेत निर्णय गरेको छ । 


बैठकले अत्याधिक महङ्गीका कारण आम सर्वसाधारण प्रताडित भएको अवस्थामा उपभोग्य बस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न र बजारको प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन, निजी अस्पतालमा पनि स्वास्थ्य बीमाको उपचार सुविधा दिन, मलखादको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै बैठकले एसपीपी फिर्ता पठाउनेबारे आफ्नै निर्णय अनुसार सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकामा आपती जनाएको छ भने बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्र, आगामी कार्ययोजना तथा प्रतिवेदनहरु संशोधनसहित पारित गरेको राप्रपाले जनाएको छ ।


Author

थप समाचार
x