राजनीति

आउँदो निर्वाचनमा कांग्रेस बहुमतले जिताेस् भन्ने कामना छठी मातासँग गरेकी छु : आरजु देउवा

सुभाष कर्ण |
कात्तिक १३, २०७९ आइतबार २१:१३ बजे

जनकपुरधाम- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेस बहुमतले जितोस् भन्ने कामना छठी माता गरेकी छिन् ।

आइतबार छठी माताको पूजाआजा गर्न जनकपुरधाम आएकी प्रधानमन्त्री देउवा पत्नी राणाले स्थानीय गंगा सागरको घाटमा छठी माताको पूजाआराधना गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस बहुमतले विजयी होस् र कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने कामना गरेकी हुन् ।


छठ पूजा पश्चात उनले भनिन्, 'जनकपुरधामको छठ पर्वको बारेमा धेरै सुनेको थिएँ आज छठी माताको पूजापाठ र भगवान सूर्यलाई अर्घदान गर्ने अवसर पाउँदा निकै खुसी लागेको छ । यस्तो शान्ति र रमाइलो वातावरणमा छठी मातालाई पूजापाठ गर्न पाउँदा राम्रो लागेको छ ।'  

संचारकर्मीहरूको जिज्ञासामा उनले भनिन्, 'छठी मातासँग देशमा शान्ति होस, हाम्रो प्रगति होस र आउँदो निर्वाचनमा नेपाली कांग्रेस बहुमतले जितोस् भन्ने कामना गरेको छु ।'

प्रधानमन्त्री देउवा पत्नी राणाले गंगा सागरको घाटमा मिथिला परम्पराअनुसार पूजापाठ गरेकी छिन् । उनीसँगै आएकी नेपाली कांग्रेसकी नेतृ चन्दा चौधरीले राणालाई छठी माताको पूजाआजामा सहयोग गरेकी थिइन् ।

करिब आधा घण्टासम्म पूजाआजा गरेकी राणाले छठी मातालाई साँझको अर्घदान समेत गरेकी छिन् । पूजापाठ पश्चात उनले पूजाका लागि सजाइएका घाटको आस्थाका साथ अवलोकन गरेकी थिइन् ।

त्यस्तै, सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा नेतृ राणा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका काँग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईनमा बिहान छठी माताको पूजापाठ गर्दै उदाउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम रहेको काँग्रेस धनुषा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x