राजनीति

कैलाली-२

एमालेको 'ह्याट्रिक' र माओवादीको दोहोर्‍याउने दाउमा नागरिक उन्मुक्ति तगारो

दीपक उपाध्याय |
कात्तिक २२, २०७९ मंगलबार १३:५७ बजे

कैलाली - कांग्रेसले २०४८, २०५१ र २०५६ सालको निर्वाचन जितेर ह्याट्रिक गरेको कैलाली क्षेत्र नम्बर २ मा २०७० र २०७४ को निर्वाचनमा भने एमालेले बाजी मार्‍यो । मंसिर ४ को निर्वाचन जितेर ह्याट्रिक गरेर कांग्रेससँग रेकर्ड बराबर बनाउने एमालेको योजना  छ। तर, एमालेलाई ह्याट्रिक गर्न भने सजिलो छैन । यस क्षेत्रमा कांग्रेसले पार्टीगतमात्रै ह्याट्रिक मात्रै होइन उम्मेदवारका रूपमा रामजनम चौधरीले समेत ह्याट्रिक गरेका थिए । 

२०४८ मा नेकपा एमालेका गणेशमान सोवलाई १४ हजार ४०७ मतले पराजित गर्दै विजयी चौधरीले २०५१ र २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनराज मल्ललाई पराजित गरेका थिए । लगातार तीनपटक विजयी भएको कांग्रेसलाई २०६४ मा भने ठूलो झट्का लाग्यो । कांग्रेसको अपराजित यात्रा तेस्रोमा सीमित भयो । माओवादीका भगत बडुवालले एमालेका मोहनसिंह राठौरलाई १० हजार ६१० मतले पराजित गरेका थिए ।


त्यस्तै २०७० सालमा पहिलो पटक यो क्षेत्रमा एमाले विजयी भयो । एमालेका मोहनसिंह राठौरले कांग्रेसका कमल शाहलाई ३ हजार ५३६ मतले हराएका थिए । राठौरले ११ हजार ९३२ मत ल्याउँदा शाहले ८ हजार ३९६ मत पाएका थिए ।

२०७४ सालमा पनि यो क्षेत्रमा एमालेले जीत हासिल गर्‍यो । तीन पटकसम्म लगातार टिकट पाएर एक पटक जितेका मोहनसिंह राठौरले यसपाली टिकट पाएनन् । राठौर राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका झपट रावलले टिकट पाउने भएपछि राठौरले एमाले छाडे । उनी एमालेविरुद्ध कांग्रेसबाट उम्मेदवार बने । तर, आफ्ना पूर्वस्वकीय सचिव रावलसँग पराजित हुन पुगे । 

वाम गठबन्धनबाट उम्मेदवार बनेका रावलले राठौरलाई २ हजार ८४४ मतले पराजित गरे । रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए । राजपाका रामप्रसाद चौधरी ५ हजार ९६७ मत ल्याएर तेस्रो भएका थिए ।

क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पुरै क्षेत्र पर्दछ । यस क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ बाहेकका सबै वडा र जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ पर्छन् ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लम्की चुहाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । बर्दगोरियाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएका छन् ।

यहाँ पर्ने जानकीका चार वडामध्ये तीन वटामा एमाले विजयी भएको छ । त्यस्तै मोहन्याल गाउँपालिकाको ६ वडामध्ये तीन वटामा कांग्रेस, २ वटामा माओवादी र एउटामा एमाले विजयी भएको छ ।

यहाँ दलका वडाध्यक्षले पाएको मतअनुसार एमालेले १७ हजार ८३४ मत पाएको छ । कांग्रेस १३ हजार ८२० र माओवादीले ८ हजार ७२४ मत पाएको छ । यसरी हेर्दा यहाँ गठबन्धनको मत बढी देखिन्छ । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको छ ।

माओवादी केन्द्रबाट २०६४ सालमा निर्वाचित भगत बडुवाल पुनः गठबन्धनबाट उम्मेदवार छन् भने एमालेका नेता झपट रावल चुनावी मैदानमा छन् ।

बडुवाललाई हराएर रावल एमालेको जीतको ह्याट्रिक गर्ने लक्ष्यमा छन् । बडुवाल भने एमालेको जीत श्रृङ्खलामा ब्रेक लगाएर २०६४ कै नतिजा दोहोर्‍याउने दाउ छ ।

बडुवाल र रावल दुवै आ–आफ्नो जीत दाबी गरिरहेका छन् । आफूले पाँच वर्षसम्म यहाँ विकासका थुप्रै काम गरेको बताउँदै नेता रावलले जनताले मलाई पुनः निर्वाचित गराउने कुरामा आफू ढुक्क रहेको बताए । त्यस्तै गठबन्धनका साझा उम्मेदवार बडुवालले अघिल्लो पटक जितेका सांसदले केही गर्न नसकेको भन्दै यस पटक आफूलाई जनताले जिताउने विश्वास व्यक्त गरे । उनले त्यसमा गठबन्धनले गर्दा आफु अझै बलियो रहेको बताए ।

यी दुवै उम्मेदवारलाई रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति तगारो बन्न सक्ने आँकलन गरिएको छ । नागरिक उन्मुक्ति उम्मेदवार अरुण चौधरीले यसअघि चुनाव जितेकाले केही पनि काम नगरेका कारण यो पटक यहाँका जनताले दिने मतले कैलाली २ मा आफ्नो जित निश्चित रहेको दाबी गरे । उनले भखैरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीप्रति जनताले दिएको विश्वास त्यसकै उदाहरण रहेको बताए । 

स्थानीय माझ निकै लोकप्रिय चौधरी कांग्रेसमा छँदा महासमिति सदस्य थिए । अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका चौधरी दुवै निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x