राजनीति

नेकपा (एस) मकवानपुरकाे चुनावी समीक्षा : कमजाेर संगठनका कारण हार

इकागज |
मंसिर ११, २०७९ आइतबार २०:२९ बजे

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) मकवानपुरले चुनावी समीक्षा गर्दै हारकाे कारण कमजाेर संगठन भनेकाे छ । आइतबार हेटौँडामा बसेको जिल्ला कार्यकर्ता भेलामा पार्टीका शीर्ष नेताहरूले कमजोर संगठन, अरूको गठजोड, आर्थिक अभाव तथा नयाँ शक्तिहरूको बलियो उपस्थितिका कारण मकवानपुरमा हार व्यहाेर्नु परेकाे जनाएकाे हाे ।

सत्ता गठबन्धन साझेदार दल नेकपा एसले गठबन्धनका दलहरू र मकवानपुरका मतदातामा धन्यवादसहित आभार समेत प्रकट गरेको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडालाई उम्मेदवार बनाउने गठबन्धन र मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गरेको हो । अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा इमानदार भएर मतदान गर्ने ३० हजारभन्दा बढी मतदातालाई धन्यवाद ज्ञापनकाे निर्णय गरेको हो । समाजवादीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का हरेक वडाहरूका मतदाताकहाँ समेत पुगेर धन्यवाद ज्ञापन गर्ने तयारी गरेकाे छ ।


नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश इञ्चार्ज एवम् उपाध्यक्ष केदार न्यौपानेले निर्वाचन परिणाममा झिनो मतले हारजित भए पनि संगठन बलियो पारेर अघि बढ्न सके मकवानपुरमा समाजवादी पार्टी बलियो हुने बताएका छन् । यस्तै, स्थायी कमिटी सदस्य ललित बस्नेतले कम जनशक्ति भएको पार्टीले गठबन्धनको जोडमा चुनावमा होमिँदा यस्ता अप्ठ्यारा परिस्थिति आइलाग्ने भएकाले शिक्षाका रूपमा लिएर अघि बढ्नु पर्ने बताए ।

स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्राविधिक रूपमा निर्वाचनमा पराजय हुनुमा अरूको गठजोडको आन्तरिक समस्या भए पनि नेता कार्यकर्तालाई निरास नभइ पार्टी काममा लाग्न र सक्रिय रहन आग्रह गरेका छन् । आफू पनि मकवानपुरे जनतासँग निरन्तर सम्पर्कमा रहेर पार्टी काममा लागिरहने समेत उनले बताए ।

नेकपा समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेशकुमार बर्तौलासँग पराजित भएका हुन्। बर्तौला ३४ हजार ९ सय १६ मतसहित विजयी हुँदा खतिवडा ३० हजार ३ सय ९६ मतले पराजित भए ।

एकीकृत समाजवादीले आगामी पुस ९ गते विस्तारित बैठक र भेला बोलाउने भएको छ । भेलाले पार्टीको मकवानपुर नेतृत्व हेरफेरसमेत गर्ने तयारी गरेको सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख रामकुमार एलनले जानकारी दिए । स्थानीय तह निर्वाचन अघि नै पार्टीका तत्कालील अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेपछि केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।


Author

थप समाचार
x