राजनीति

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : राना थारू समुदायको प्रतिनिधित्व शून्य

इकागज |
मंसिर २६, २०७९ सोमबार १४:४८ बजे

महेन्द्रनगर- अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारू समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ ।

मुलुकभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाैँदेखि बसोबास रहेको राना थारू समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन् ।


त्यसैगरी राजनीतिक दलले आफ्नो समानुपातिक कोटामा पनि प्रतिनिधि र प्रदेश सभामा राना थारू समुदायलाई नसमेटेपछि उनीहरूको उपस्थिति शून्य बनेको हो । विसं २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधि सभा निर्वाचन जितेर केन्द्रमा आफ्नो उपस्थिति जनाएका एमाले नेता नारदमुनि राना यसपटक भने नेपाली कांग्रेसका उम्मेदवारसित पराजित हुन पुगे ।

कञ्चनपुरमा पनि विगतमा नेकपा (एमाले)बाट समानुपातिक सांसद भइसकेका कृपाराम रानादेखि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता बन्धु रानासम्म प्रदेश सभा सदस्यका उम्मेदवार भए पनि पराजित भए । 

पछिल्लो समय सुदूरपश्चिममा प्रतिनिधि सभामा तीन र प्रदेश सभामा पाँच सिट जितेर उदाएको नागरिक उन्मुक्ति पार्टीबाट यहाँ प्रदेश सभा सदस्य पदमा राना थारू समुदायबाट उम्मेदवार बने पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा चौधरी थारू समुदायबाट उपस्थिति बढिरहँदा राना थारू समुदाय भने शून्यमा पुगेको छ । अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनता पार्टीबाट मालामती राना र नेपाली कांग्रेसबाट श्यामलाल चौधरी प्रदेश सभा सदस्य थिए । बत्तीस प्रत्यक्ष र २१ समानुपातिक गरी ५३ प्रदेश सभा सदस्य चुनिँदा यहाँ राना थारू समुदायबाट शून्य हुनु दुःखद भएको राना थारू अगुवाको भनाइ छ ।

राना थारूलाई विसं २०७६ माघमा सरकारले सूचीकृत गरेको थियो । यसपटक प्रदेशमा समानुपातिकतर्फ थारूबाट नेपाली कांग्रेसले गीताकुमारी चौधरी, नेकपा (एमाले)ले कोइलीदेवी चौधरी र नागरिक उन्मुक्ति पार्टीले सुनिता चौधरीलाई प्रदेश सभा सदस्य बनाएको छ । 

मुलुकभर यहाँकमा दुई जिल्लामा मात्रै बसोबास रहेको राना थारू समुदायबाट पहिलो पटक २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत कञ्चनपुरका लबरु राना २०४२ सालमा भूमि सुधार राज्यमन्त्री बनेका थिए ।

कञ्चनपुरबाट संविधान सभा सदस्य एवं हाल प्रदेश सभा निर्वाचनका उम्मेदवार रहेका नेकपा (एमाले) का नेता कृपाराम रानाले यसपटक राना थारू समुदायको उपस्थिति सङ्घ र प्रदेशमा नरहेको बताए ।

'हाम्रो पार्टीमा केन्द्र र प्रदेशमा प्रत्यक्षमै टिकट दिएपछि समानुपातिकमा हाम्रो समुदायबाट कसैलाई समेटिएन,' उनले भने, 'सत्ता गठबन्धनबाट नेपाली कांग्रेसमा राना थारू समुदायको प्रतिनिधित्वका लागि सिफारिस गरिए पनि अन्तःसांसद भने बनाइएन ।'

कांग्रेसबाट राना थारू समुदायबाट केन्द्रमा जीवन राना र प्रदेशमा झेली रानालाई समानुपातिक कोटामा सिफारिस गरिएको थियो ।

यहाँ राना थारू अगुवाहरूले संसद्‍मा सबै वर्ग, समुदाय, जातजाति समेटिनुपर्ने भए पनि प्रमुख राजनीतिक दलले त्यसमा ध्यान नदिएको दुखेसो पोखेका छन् ।

'कञ्चनपुरमा मात्रै हाम्रो २५ प्रतिशतभन्दा बढी बसोबास रहे पनि जनप्रतिनिधितर्फ पालिकामा सिमित गरियो,' नेपाल राना थारू समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले भनिन् । उनले चौधरी थारू समुदायको पूर्व झापादेखि कञ्चनपुरसम्म प्रतिनिधित्व हुँदा राना थारूमाथि भने सबैतिरबाट वञ्चित गर्ने काम भएकामा गुनासो पोखिन् । रासस 


Author

थप समाचार
x