राजनीति

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

अनिष भट्टराई |
बैशाख २६, २०७८ आइतबार १७:५ बजे

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।  गुरुङले राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाइसकेका छन् । अविश्वासको प्रस्तावमाथिको मतदानको अघिल्लो दिन उनले राजीनामा दिएका हुन् ।  

'गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङले मिति २०७८ |०१।२६ मा नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम माननीय प्रदेश प्रमुख श्री सीता कुमारी पौडेल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले हालसम्म वहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिदै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिन भित्र सरकार गठन गर्न आव्हान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ' प्रदेश प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज ३ बजे राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री गुरुङले आफूविरुद्ध आएको अविश्वास प्रस्ताव पास हुने भएपछि आज राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङविरुद्ध २ वैशाखमा अविश्वास प्रस्ताव पेस भएको थियो । त्यसमा भोलि सोमबार मतदान हुने कार्यसूची रहेको थियो । आफु विरुद्ध लगाइएका अभियोगमा आफैले जवाफ दिन नपाउने भएपछि उनले त्यसअघि नै राजीनामा दिएका हुन् । माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा थिए।

 

 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x