राजनीति

'नेपालको प्रजातान्त्रिक आन्दोलनमा गान्धीको ठूलो योगदान'

सुभाष कर्ण |
असोज १५, २०८० सोमबार १९:४७ बजे

जनकपुरधाम- नेपालको प्रजातान्त्रिक आन्दोलनमा महात्मा गान्धीको ठूलो योगदान रहेको वक्ताहरूले बथाका छन् । सोमबार अन्तराष्ट्रिय अहिंसा दिवस तथा १५४ औं महात्मा गान्धी जन्मजयन्तीको अवसरमा जनकपुरधाममा श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘आजको सन्दर्भमा गान्धीको विचार गोष्ठी’ कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सांसद शेषनारायण यादवले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महात्मा गान्धीको ठूलो रहेको बताए । उनले भने, 'महात्मा गान्धीको सत्याग्रह आन्दोलनसहित विचार र सिद्धान्तले भारतले ब्रिटिस शासनबाट मात्रै मुक्ति नपाई नेपालमा समेत जहानियाँ राणा शासनको अन्त्य भएको हो ।'


आन्दोलनका क्रममा नेपालबाट निर्वाचित भई भारत पुगेका बिपी कोइराला र कृष्णप्रसाद भट्टराई लगायतका स्वतन्त्रता सेनानी एवं प्रजातान्त्रिक आन्दोलनका योद्धाहरू महात्मा गान्धीसँग प्रत्यक्ष समन्वय गरी नेपालमा समेत उनको विचार र सिद्धान्तलाई प्रयोग गरेर वर्षौंदेखिको जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको उनले बताए ।

सांसद यादवले महात्मा गान्धीको योगदान नेपालको प्रजातान्त्रिक आन्दोलनमा मात्र नभई चर्खा आन्दोलन मार्फत यहाँका जनतालाई आत्मनिर्भर बनाउनमा समेत रहेको बताए । उनले भने, 'तुलसी मेहर श्रेष्ठ मार्फत महात्मा गान्धीले नेपालमा समेत आफ्नै लगानीले चर्खा आन्दोलन गरी यहाँका जनतालाई त्यो बेला आत्मनिर्भर बनाएका थिए ।'

कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी इन्जिनियर प्रकाशचन्द्र साहले गान्धीको विचार र सिद्धान्तबारे प्रकाश पार्दै धर्मनिरपेक्षले गर्दा जसरी आज भारत बरबाद भइरहेको छ त्यसरी नै नेपालमा पनि बरबाद हुन लागेको भन्दै दु:ख व्यक्त गरे । उनले भने, 'गान्धी कहिले पनि धर्मनिरपेक्षको पक्षमा थिएनन् । उनको इच्छा विपरीत गरिएको धर्मनिरपेक्षले आजसम्म गृहद्वन्द्वमा फसेर जसरी भारत बरबाद भइरहेको छ । त्यसरी नेपाल पनि धर्मनिरपेक्षले धार्मिकद्वन्द्वमा फसेर बरबाद भइरहेको छ ।'

इन्जिनियर साहले अहिले ८४ प्रतिशत हिन्दु रहेकाे नेपाल युरोपियन युनियनको डलरमा ल्याइएको धर्मनिरपेक्षले अहिले हिन्दु धर्म नै खतरामा परेको बताए । उनले भने, 'जताजतै आर्थिक र विभिन्न फाइदाको प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेहरू सक्रिय भएको छ । सामाजिक सद्भावको मिशाल रहेका नेपाल अहिले हिन्दु मुसलमानको वर्गीयद्वन्द्वमा फसेर जताततै खुनखराबा हुन थालेको छ । अहिले गान्धीको विचार सबै धर्मको सम्मान र सबैको आत्मसम्मान अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको छ ।'

पुस्कालयका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा समाजसेवी कृष्णचन्द्र साह वडाध्यक्ष पुण्यप्रसाद यादव लगायतका वक्ताहरूले पनि गान्धीको विचार, सिद्धान्त र योगदान बारे आआफ्ना धारणा राखेका थिए भने स्थानीय श्री जनता मावि बेल्ही र श्री माध्यमिक विद्यालय मुजेलियाका कक्षा ८ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई सम्मान गर्दै पुरस्कृत गरिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x