राजनीति

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा मेरो विरोध हुने गरेको छ : मन्त्री बस्नेत

इकागज |
पुस २७, २०८० शुक्रबार १६:१५ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको बताएका छन् ।

शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको बताएका हुन् ।


मन्त्री बस्नेतले वीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भए पनि आफूले कटौती गरेको हल्ला चलाएको धारणा राखे । अक्सिजनको सिलिन्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनले बताए ।

उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने स्पष्ट पारे । वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफू तयार रहेको उनले बताए ।

मन्त्री बस्नेतले जटिल रोगहरूका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए । सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरे । उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’ सहित परीक्षणको नतिजा हेर्न सकिने अस्पतालले जनाएको छ । 


Author

थप समाचार
x