राजनीति

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

इकागज |
माघ ११, २०८० बिहीबार १४:५२ बजे

काठमाडौँ- चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाइ सक्ने गरी काम भइरहेको जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्ध स्तरमा छपाइ कार्य सम्पन्न भएर इतिहासमा नै पहिलो पटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए ।


'छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४ सैं घण्टा चलिरहेको छ,' झाले भने, 'पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ ।'

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीव्रता आएको हो । निजी क्षेत्रका छापाखानाहरूलाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले टेण्डर आव्हान गरिसकेको छ । 

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब १ करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी रहेका छन् । केन्द्रले दैनिक ७० हजारदेखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाइ र तयारी भइरहेको जनाएको छ । 

प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो । गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए । 

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयहरूसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए । उनले भने, 'केन्द्रको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ ।' 

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसीले बताए । अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर यकिन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ ।


Author

थप समाचार
x