राजनीति

सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति

इकागज |
चैत ८, २०८० बिहीबार १७:३४ बजे

काठमाडौँ- सरकार र  सहकारीका बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति भएको छ ।

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र अभियानबीच भएको वार्ताका क्रममा ८ बुँदे सहमति भएको हो । दुई पक्षबीच समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण अनुगमन गर्ने र समस्याग्रस्त सहकारीको रूपमा घोषणा गर्न सिफारिस गर्नका लागि अधिकार सम्पन्न समिति गठन गर्ने सहमति भएको छ ।


समितिको सिफारिसमा त्यस्ता सहकारी संस्थाहरूलाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणालीमार्फत त्यस्ता सहकारीको सम्पत्ति र दायित्व फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ । त्यस्तै मौजुदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति स्रोत साधनलगायत संस्थागत क्षमताको सुदृढीकरण गरी यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारबाही यथाशिघ्र सम्पन्न गर्ने सहमति भएको छ भने समितिको सिफारिसमा सहकारी ऐन बमोजिम कसुर गर्ने सहकारीका सञ्चालक, व्यवस्था र संलग्न कर्मचारीहरूलाई कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई सुदृढ गर्न आवश्यक कानुन बनाइने र सहमतिलाई कार्यान्वयनमा जोड दिने बताए ।

त्यस्तै सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने सहमति भएको छ । सहमति भएसँगै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको तर्फबाट हालसम्म सञ्चालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । 


Author

थप समाचार
x