राजनीति

लुम्बिनी प्रदेश : जाने प्रदेश प्रमुखको भव्य बिदाइ, आउनेलाई वेवास्ता

शेरचनले सम्हाले कार्यभार

विक्रम खड्का |
साउन १५, २०७८ शुक्रबार १४:११ बजे

बुटवल : उच्च तहका प्रमुखलाई स्वागत तथा बिदाइसँगै सम्मान गर्ने प्रचलन नेपालमा मात्र होइन विश्‍वका कयौँ देशमा पनि छ । तर, लुम्बिनी प्रदेशमा भने यसपटक फरक दृश्‍य देखियो । भर्खरै लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको स्वागत र बिदा भएर गएका प्रदेश प्रमुख धर्मनाथ यादवको बिदाइमा अनौठो दृश्य देखियो ।  

बिदा भएर गएका प्रदेश प्रमुखलाई तामझमका साथ स्वयम् मुख्यमन्त्री शंकर पोख्रेल र अन्य मन्त्रीहरू पुगेर भव्य बिदाइ गरे ।  तर त्यसका ठिक दुई दिनपछि आएका नयाँ प्रदेश प्रमुख अमिक शेरचनको स्वागतमा मुख्यमन्त्री, मन्त्री कोही पुगेनन् । शेचनलाई आफ्नो कार्यालयका कर्मचारीले मात्रै स्वागत गरे । शेरचनलाई कार्यलयमा प्रदेश प्रमुखको कार्यालय सचिव चिरञ्जीवि पौडेलले स्वागत गरेका थिए । 


त्यसो त नवनियुक्त प्रदेश प्रमुखको स्वागतमा गौतमबुद्ध विमानस्थलमा पनि कोही सरकारी प्रतिनिधिहरू देखिएनन् । शेरचनलाई विमानस्थलमा माओवादी केन्द्रका नेता कार्याकर्ताहरू र संघीय सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी आशमान तमाङले स्वागत गरे । प्रदेश प्रमुख भनेको प्रदेश सरकारको संरक्षकका रुपमा लिने गरिन्छ । तर उनीहरूको स्वागत र बिदाइ भिन्‍नतालाई प्रदेश सरकारको आफू अनुकुलको पदीय मर्यादाका रुपमा टिप्प्णी गरिएको छ । 

बिदाइ समारोहमा पुगेका मुख्यमन्त्री पोख्रेल, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य लगायतका सरकारका प्रतिनिधिहरू नयां प्रदेश प्रमुखको पदभारग्रहण कार्याक्रममा नदेखिनुलाई सरकारले प्रतिशोध साँधेको भन्दै टिप्पणी गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले प्रदेश प्रमुखको पदभार ग्रहण तथा स्वागत कार्याक्रममा सरकारी मन्त्री अथवा प्रतिनिधिहरू नदेखिनु पूर्वाग्रही सोंच भएको बताए । उनले भने, 'प्रदेश प्रमुख नियुक्त भैसकेपछि त उ सबैका साझा हो, तर सिंगो सरकार नै अदेखा जस्तो गरेर नआउनु आफ" अनुकुलको मर्यादा कायम गरेको जस्तो भयो ।'

उनले प्रदेश प्रमुख संस्थालाई दलीय संस्थाको रुपमा लिएको भन्दै बिदाइ गर्दा गएको र स्वागत गर्न नगएको बताए । यसअघिका प्रदेश प्रमुख एमालेको सिफारिसमा बनेका थिए भने । लुम्बिनीमा एमालेकै नेता मुख्यमन्त्री छन् ।   

प्रदेश प्रमुखको कार्यालयका कार्यालय प्रमुख चिरञ्जीवि पौडेलले मुख्यमन्त्री कार्यालयका सचिवलाई नै भेटेर नयाँ प्रदेश प्रमुख आउने जानकारी गराएका थिए । तर मुख्यमन्त्री कार्यालयका सचिव खगेन्द्र सुवेदीलाई भेटेर प्रदेश प्रमुखको कार्यक्रमबारे जानकारी गराइएको थियो ।

उता मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीले खबर आएको भए पनि बिहानैदेखि कार्यक्रममा व्यस्त भएर नगएको हुन सक्ने प्रतिक्रिया दिए । यो विषयमा जानकारी लिन सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री वैजनाथ चौधरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।  मंगलबार संघीय सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै बुटवलमा पुगेर पदभार ग्रहण गरेका छन् । सो कार्यक्रममा सरकारी प्रतिनिधिहरू देखिएनन् । तर यसअघि बुधबार प्रदेश प्रमुख धर्मनाथ यादवको विदाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेल सहितका मन्त्रीहरू नै पुगेका थिए ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गरेको थियो । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x