राजनीति

विरोध खतिवडा भन्छन्, 'माओवादी नै हौं भन्दै अदालतलाई ढाँट्ने नक्कली एमालेको बारेमा निर्णय लिनुपर्छ'

इकागज |
साउन १९, २०७८ मंगलबार १२:४२ बजे

काठमाडौँ– सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पूर्ववत अवस्थामा एमाले र माओवादी केन्द्र छुट्टीएपछि एमालेको नियमित बैठक तथा अन्य गतिविधिमा सहभागी भैरहेका चार जना सांसदले अदालतलाई ढाँटेका छन् । विधिवत एमालेमा प्रवेश नगरेकाले माओवादी केन्द्रले गरेको कारबाही मान्य नहुने भन्दै सांसद बहाल रहन पाउनुपर्ने पूर्व माओवादी नेताहरू लेखराज भट्ट, प्रभु साह, गौरी शंकर चौधरी र टोपबहादुर रायमाझीले सर्वोच्चमा दायर गरेको मुद्दामा उनीहरूले दिउँसै रात पार्ने तरिकाले अदालतलाई ढाँटेका छन् । 

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको उक्त मुद्दामा उनीहरूले कुन दलीलका आधारमा माओवादी केन्द्रकै सांसद रहन खोज्नु अवसरवादी चरित्र र नालायकीको हद भएको एमाले नेता तथा सांसद विरोध खतिवडाले बताए । 


‘एकातिर सर्वोच्च अदालतमा लिखित रूपमा हामी एमाले होइनौं भनेका छन्, यसबारे एमालेले के धारणा बनाउने हो तय हुनुपर्छ,’ उनले भने, ‘हिजोसम्म ओलीको बैठकमा बसिरहेका छन्, फेरि हामी माओवादी नै हौं पनि भन्छन् ।’ 

उनले अदालतमा लिखित रूपमा गइसकेपछि एमालेले चूपचाप बस्नु पनि नालायकी हुने खतिवडाले बताए । एमाले एकताका लागि गरिएको १० बुँदे सहमतिमा पनि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको समायोजनको विषय स्पष्ट लिपिबद्ध भएको छ । उनीहरू खुलेआम एमालेको गतिविधिमा संलग्न छन् तर पनि अदालतलाई ढाँटिरहेका छन् । 

यसअघि गत वर्ष पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भट्ट, साह, रायमाझी र चौधरीले मन्त्री पदको लोभमा ओलीलाई सघाउँदै आएका थिए । फागुन २३ मा सर्वोच्च अदालतको फैसलापछि माओवादी र एमाले छुट्टीएपछि माओवादीबाट निर्वाचन जितपनि एमालेतिर लागेको भन्दै यी  सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । 

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ बाट निर्वाचित  चौधरीलाई माओवादीले गरेको कारबाहीका आधारमा पदमुक्त गरेको सभामुख अग्निप्रसाद सापकोटाले चैत २६ को प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए । 
 


Author

थप समाचार
x