राजनीति

लुम्बिनीको सत्ता राजनीति : सत्तापक्ष अदालतमा विपक्षी रिसोर्टमा

विक्रम खड्का |
साउन २५, २०७८ सोमबार १७:३५ बजे

बुटवल - भण्डै तीन महिनादेखि सत्ताको रस्साकस्सीमा रुमल्लिएको लुम्बिनीमा राजनितिक डौडधुप तीव्र भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनका लागि संसद्‍को विशेष अधिवेशन डाकेपछि सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नो कसरतमा लागेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोख्रेलसहितका सत्तारुढ सांसद सर्वोच्चको शरणमा पुगेका छन् । एमाले प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य लिला गिरीको नेतृत्वमा अदालतमा रिट दर्ता गरी बैठक नै अवैध भएको दाबी गरेका छन् । उक्त रिटको सुनुवाइकाे लागि मंगबारलाई पेसी तोकिएको छ । यता विपक्षी गठबन्धन भने सांसदहरुलाई रिसोर्टमा राखेर छलफलमा बसेको छ । 


लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनका सांसद सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा जम्मा भएका छन् । २७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीति कस्ताो बनाउने भनेर  विपक्षी ४१ जना सांसद रिसोर्टमा जम्मा भएको एक सांसदले इकागजलाई जानकारी दिए । 

सत्तापक्षले सांसदलाई फकाएर आफ्नो पक्षमा पार्न सक्ने आँकलन गर्दै गठबन्धनले सबै सांसदलाई रिसोर्टमा लगेको बताइएको छ ।  केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भएकी थिइन् भने माओवादी केन्द्रकी सांसद विमला वली हप्ता दिन सम्पर्कविहीन थिइन् । मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखेको सांसद वलीले पत्रकार सम्मेलनमा बताएकी थिइन् । 

बुधबार प्रदेश सभाको बैठक र त्यस विषयमा रणनीति बनाउन रिसोर्टमा विपक्षी सांसद जम्मा भएको गठबन्धनका एक नेताले बताए । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार बहिर्गमन हुने ढुक्क भएपछि रिसोर्टमा जम्मा भएर गठबन्धनले नयाँ बन्ने सरकारमा भागबन्डा कसरी मिलाउने भन्ने विषयमा छलफल गर्ने ती नेताको दाबी छ । ती नेताका अनुसार ८/८ महिना माओवादी केन्द्र र कांग्रेसका तर्फबाट आलोपालो प्रदेश सरकार चलाउने गरी छलफल भइरहेको छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x